९ पुस २०८०, सोमबार
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली समाज विभिन्न धर्म र संस्कृतिको संगमस्थल भएको बताउनुभएको छ ।
आज पर्न गएको इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा प्रदेश प्रमुख परियारले कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, आरोग्य एवं दीर्घायू जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले । क्रिसमस जस्तै मुलुकमा मनाईने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबिच सद्भाव र समन्वय महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभएको छ ।
प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “मुलुक साँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण छ । यही नै हाम्रो मौलिक राष्ट्रिय पहिचान पनि हो । विविधता बीचको एकता र सद्भावको यो गौरवपूर्ण परम्परालाई हामीले अक्षुण्ण राख्नुपर्दछ । हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाइ धार्मिक र साँस्कृतिक उत्सवका रुपमा मनाइने ‘क्रिसमस डे’ले पनि सामाजिक सद्भाव कायम गर्न मद्दत पुगेको छ ।”
लामो समयपछिको राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, साँस्कृतिक परिवर्तन भएकोले आ–आफ्नो आस्था, विश्वास र पहिचानलाई कायम राख्दै आम जनताको जीवनस्तरलाई माथि उठाउन सुशासन, सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्ने उहाँले बताउनुभएको छ ।
धर्म व्यक्तिगत आस्था र स्वतन्त्रताको मामिला भएकाले राज्य सबैको साझा अभिभावक भएको जनाउँदै प्रदेश प्रमुख परियारले विविध आस्था र विश्वास बोकेका आफ्ना नागरिकप्रति राज्यका तर्फबाट सद्भाव र समान व्यवहार गरिनुपर्ने तर्क राख्नुभएको छ । धार्मिक तथा सांस्कृतिक चाडपर्वहरुले सम्पूर्ण नेपाली जनतामा आपसी सद्भाव‚ सहिष्णुता र एकताको भावनालाई सबल बनाउदै बृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउन यो पर्वले भूमिका खेल्ने विश्वास लिएको उहाँले उल्लेख गर्नुभएको छ ।