२२ मंसिर २०८०, शनिबार
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघको आज आयोजित ४०औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाउनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सृजना गर्न सकिन्छ । कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ ।”
मुख्यमन्त्री शर्माले नीजि क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीन खम्बे अर्थनीतिलाई आत्मसात गरिएको जनाउनुभयो । एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सृजना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछिपरेको नभई पछाडि पारिएको जिकिर गर्नुभयो ।
पटक पटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग संघीय सरकासँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भन्नुभयो “जनसंख्याको आधारमा होईन, भूगोल, यहाँको वस्तुगत अवस्था अनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनु पर्दछ । राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ ।” यहाँको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योग व्यवसायीहरुको साझा बुझाई हुनुपर्नेमा उहाँको जोड थियो ।
कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताउनुभएका उहाँले राजधानीसँग सिधै जोड्नेगरी यहाँ रहेका दश एयरपोर्टको स्तरवृद्धि र व्यवस्थापन ध्यान दिइएको जनाउनुभयो । उक्त कार्यक्रममा प्रतिपक्षी दल नेकपा एमाले नेता यामलाल कडेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।