OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८०
१८० पटक

 

१८ मंसिर २०८०, सोमबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तरगत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका १ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक समृद्धिको लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन् कार्यमा तीव्रता दिन आग्रह गर्नुभयो ।”

“दैलेख पुरातात्विक महत्वको मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो संभावना भएको जिल्ला पनि हो”, उहाँले भन्नुभयो, “यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढ्नुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।” उहाँले अन्वेषण विभागको टोलीसँगको ब्रिफिङपछि देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापीतले चीनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो संभावना भएको निचोड निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्खनन टोलीको प्रतिवेदनका अनुसार पहिलो तेल तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म पेट्रोलियम पदार्थको संभावना देखिएको छ । चार हजार पाँच सय मिटरसम्म पनि यसको संभावना निकै राम्रो देखिन्छ ।”

दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारणको संभावनाको अध्ययनको लागि विसं.२०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।

देशकै आर्थिक अवस्थामा सुधार आउने आशा गरिएको पेट्रोलियम अन्वेषणको अधययन प्रतिवेदन परियोजना प्रमुख नापितले अध्यक्ष ओलीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष ओलीसहित उत्खनन् क्षेत्रमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरुले पनि स्थलतगत अवलोकन गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्