कोरपाटी संवाददाताआश्विन २८, २०८०सुर्खेत
२३५ पटक
२८ असोज २०८० आइतबार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले गठबन्धन सरकार कुनैपनि हालतमा नढल्ने बताउनुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले पनि चुरीफुरी नगरे हुन्छ ।” सत्ता गुमेको छटपटाहटमा सरकार ढाल्ने विभिन्न षड्यन्त्र भइरहेको उहाँको तर्क थियो ।
पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकको व्याप्त भ्रष्टाचार र बेथितिविरुद्धमा जागरण अभियान सञ्चालन गरेको बताउनुभएका उहाँले जनताको आवाज बुलन्द बनाउँदै उनीहरुको बीचमा रहेर पाटीलाई बलियो बनाउने बताउनुभयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजसंस्थालाई ढाल्न ठूलो संघर्ष गर्दा विसं.२०७४ मा नेकपाको दुई तिहाई बहुमत आएको तर अध्यक्ष ओलीको अहंकारका कारण पार्टी विभाजन हुन पुगेको उहाँको आरोप थियो
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विभिन्न कालखण्डमा एमाले पार्टीसमेत निर्माण गरिएको उल्लेख गर्नुभयो । उक्त जागरण अभियानमा नेकपा एमालेका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायतका नेताले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।