OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०८०सुर्खेत
२१५ पटक

१५ असोज २०८०, सोमबार

उषा बालबाटिका सुर्खेतमा कक्षा दुईमा अध्ययनरत ९ वर्षीय बालक सलाम पुलामी मगर र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका ५ वर्षीय बालक टेकदर्शनको घटनामा संलग्न दोषीमाथि कारवाही गर्न यहाँका नागरिक संघ संस्थाहरुले माग गरेका छन् ।

सलाम पुलामी मगर १२ गते राती उक्त विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । टेकदर्शनलाई १३ गते बिहान मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो । दुवै बालकको मृत्युपश्चात् सुर्खेतमा भएको आन्दोलनका कारण दुई दिनसम्म वीरेन्द्रनगर अशान्त बन्यो । आत्महत्या नभई हत्या हुन सक्ने भन्दै आक्रोशमा आएका पुलामीका आफन्तले उषा बालबाटिका स्कुल जलाईदिएका थिए ।

मृतक टेकदर्शनका परिवारसहित आफन्तले १३ यता अपराधीलाई पक्राउ गर भन्दै सडक आन्दोलन गरे । आक्रोशित पीडितहरुको आन्दोलन, तोडफोड दबाबपश्चात् प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्यो ।

यता पुलामीका परिवारले भने प्रहरी प्रशासनलाई सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाउन आग्रह गरेका छन् । यद्यपि पछिल्लो समयमा कर्णालीका करिब एक दर्जन बढी नागरिक संस्थाहरुको बाल अधिकार महासन्धि १९८९ का मुख्य आधारभूत अधिकारहरु बचाउ, विकास, संरक्षण र सहमागिताका अधिकारहरुको प्रत्याभूत गराउन राज्यका सबै निकायहरुलाई अपिल गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत नेपाल सरकारसँग दोषीउपर कारवाही गर्न माग गरेका छन् ।

बाल अधिकारका लागि साझा अभियान, बालबिबाह विरुद्धको साझा अभियान, शिक्षाका लागि राष्ट्रिय अभियान, राष्ट्रिय अपाङ्ग महासंघ, मानव अधिकारका लागि एकल महिला समुह, कन्सोर्टियम नेपाल, बालबालिकाका लागि शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बालिका दुलही होइनन् नेपाल, सामुदायिक सुरक्षा जालो, आवाज, स्याक नेपाल, सोसेक, सुन्दर नेपाल, नेपाल नाजेरत सोसाइटी, वातावरण सुधार समाज, अपाङ्ग सशक्तिकरण केन्द्र, वाम, मानव अधिकार तथा वातावरण विकास केन्द्र र आशा सञ्जालले सरकारसँग दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

त्यस्तै, सेतो गुराँस बालबालिका सेवा, महिला सशक्तिकरण मञ्च नेपाल, एभरेष्ट क्लब, शिक्षाका लागि राष्ट्रिय अभियान, इन्सेक मानव अधिकार रक्षक सञ्जाल र सोसेक दैलेखले पनि संयुक्त विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन अनुसन्धान गरी कानूनी उपचार र पीडितमाथि क्षतिपूर्तिको व्यवस्था गर्नसमेत उनीहरुले नेपालको सरकारको ध्यानाकर्षण गराएका छन् ।

उषा बालबाटिका विद्यालय स्वयंले अत्यन्तै मिलनसार बालक पुलामीको अकल्पनीय दुःखद् निधनले विद्यालय परिवार मर्माहित भएको जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घटनाको सत्य तथा निष्पक्ष छानबिनका लागि आवश्यक वातावरण सृजना गर्ने सवालमा विद्यालय परिवार प्रतिवद्ध रहेको बताउँदै सो विद्यालयले पीडित परिवार तथा आफन्तजनलाई घटनाको सत्य तथ्य कुरा बाहिर ल्याउने मामलामा संयमित भई सहज स्थिति निर्माण गरिदिन आग्रह गरेको छ ।

प्रहरी प्रशासनले दुवै घटनालाई गम्भीरताका साथ लिएर तिनको सत्य तथ्य बाहिर ल्याउन आवश्यक छानबिन गरिरहेको र यसमा परिवारसहित सम्बन्धित सरोकारवालाहरुलाई धैर्य रहन र सक्दो सहयोग गर्न अनुरोध गरेको छ । घटनामा अवाञ्छित क्रियाकलाप हुन नदिन र संयमित भएर बस्नसमेत सर्वधासाधारणहरुलाई प्रशासनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्