३ असोज २०८०, बुधबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको जनसम्पर्क विज्ञमा हरिमाया शर्मा र प्रेस विज्ञमा प्रतिक शर्मा नियुक्त भएका छन् ।
मुख्यमन्त्री शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत निवासी शर्मालाई जनसम्पर्क विज्ञ र दार्मा गाउँपालिका २ सल्यान जिल्ला निवासी शर्मालाई प्रेस विज्ञमा नियुक्ति गरेको हो । त्यसैगरी, बैठकबाट विभूषण तथा पदक सिफारिस सम्बन्धमा बनेको विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विभूषण तथा पदक वितरणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आव.मा वार्षिक स्वीकृत कार्यक्रममा बजेट विनियोजन गरेको छ । द्वन्द्व पीडित तथा घाइतेहरुको उपचार र २०७५ मा बनेको प्रदेश नगर र गाउँसभा कानून निर्माण प्रक्रियासम्बन्धी बनेको ऐन बुधबारदेखि लागु गर्नेगरी निर्णय भएको छ ।” उहाँका अनुसार यो ऐन यसअघि नै पारित गरेपनि कार्यान्वयन हुन सकेको थिएन् ।
त्यसैगरी, उक्त बैठकबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेका साविक घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत करारका कर्मचारीहरुको म्याद थप गर्ने निर्णय भएको छ । सोही मन्त्रालयका दुईवटा नियमावली पनि मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ । बैठकले प्रदेश पर्यटन र प्रदेश वन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको मन्त्री जिसीले जानकारी दिनुभयो ।
त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा कर्णालीमा लगानी सम्मेलन गर्नुपूर्व तयारीका लागि प्रदेश योजना आयोगका तीन जना पदाधिकारीको नेतृत्वमा विभिन्न कार्यदल गठन गर्ने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।