२० असार २०८०, बुधबार
महामारीका रुपमा फैलिँदै गएको लम्की स्कीन रोग नियन्त्रण गर्न कर्णाली प्रदेशका एक लाख २५ हजार ९१ पशुचौपायको उपचार गरिएको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुमा खोप लगाइएको छ । पछिल्लो समयमा रोग तीव्ररुपमा फैलिँदै गएपछि कृषिमन्त्री भीमप्रकाश शर्माले लम्की स्कीन रोग नियन्त्रणमा कुनै कसर बाँकी नराख्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री शर्माको निर्देशनपश्चात् कर्णालीका दश जिल्ला गरी एकलाख २५ हजार ९१ पशुचौपायको उपचार एवं नौ हजार नौ सय एक पशुचौपायमा खोप लगाइएको उक्त मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको बताउनुभयो । सुर्खेतका वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकामा गाई गोरुमा समस्या देखिएको उहाँले जनाउनुभयो ।
उक्त क्षेत्रमा शंकास्पद पशुको सिरिम र छालाको भागका नमूनाहरु पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट विसं.२०७९ चैत्र २७ गते केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएका रियल टाईम पिसिआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षण पछि गएको बैशाख ४ गते लम्पी स्कीन पुष्टि भएपश्चात् मन्त्रालयले हालसम्म गरेको प्रगति र रोग नियन्त्रणको अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत स्पष्ट पारिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार कर्णालीका १० जिल्लामा सबै भन्दा बढी लम्पी स्कीनको प्रभाव सल्यान जिल्लामा ३४ हजार तीन सय २८ पशु संक्रमित भएका थिए भने कम प्रभावित जिल्लामा मुगुमा चार सय २९ पशुचौपाय संक्रमित भएका थिए । यो रोगको प्रभाव नियन्त्रणका लागि मन्त्रालयले आफ्ना गतिविधिहरुलाई अभियानका रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो ।