OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०८०सुर्खेत
१४३ पटक

१७ असार २०८०, आइतबार

कर्णाली प्रदेश सरकारले रु.१५ लाख भन्दा मुनिका योजनामा बजेट विनियोजन भएपनि कार्यान्वयन नगर्ने प्रतिवद्धता गरेको छ ।

आज कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कर्णाली प्रदेश सरकार, प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको बैठकमा रु.१५ लाख भन्दा कमका योजना कार्यान्वयनमा नल्याउने प्रतिवद्धता सरकारले गरेको हो । यद्यपि ताल तलैया, बीउबिजन, तथा क्रमागत योजनाहरुमा विनियिोजत रकमबाट योजनाले पूर्णता पाउने भएमा योजना कार्यान्वयन हुने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त बैठकले रु.१५ लाख माथिका बजेट विनियोजन गर्दा प्रदेशसभा सदस्य तथा स्थानीय तहले माग गरे अनुसार बजेट विनियोजन गर्न प्राथमिकता दिने निर्णय गरेको छ । उल्लेखित रकम भन्दा कम अंकको बजेट विनियोजन गर्नुपरेमा प्रतिपक्षी दलसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने निर्णय भएको उहाँले बताउनुभयो ।

सचिव बुढाथोकीका अनुसार संघ सरकारबाट प्राप्त बजेट निश्चित मापदण्डका आधारमा मात्र सशर्त योजनाहरुमा रकम विनियोजन गर्न संघीय सरकारलाई प्रदेश सरकारमार्फत् अनुरोध गर्ने निर्णय भएको छ । कार्य सम्पन्न तथा दोहोरो रकम विनियोजन भएका योजनामा विनियोजित रकम अध्ययनपश्चात् कार्यान्वयन गर्ने, सडक र भवन निर्माणका हकमा रु.३० लाख भन्दा कम बजेटको योजना कार्यान्वयनमा नल्याउने, आजको सहमति अनुसार जिल्लाहरुमा अख्तियारी पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यही असार १३ गते मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभाको सोह्रौं बैठकमा बजेट संशोधन हुनुपर्ने माग राख्दै प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरोध गरेको थियो । आज प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएपछि सदन सञ्चालन भएर ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ अन्तरगत मन्त्रालयगत एवं निकायगत छलफल सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्