OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७९सुर्खेत
१९२ पटक

७ फागुन २०७९, आइतबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले समाजभित्रका भ्रम चिर्न राससले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित राससको ६२औं वार्षिकोत्सवको अवसरमा ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जिसीले कर्णालीमा भएका समग्र समस्याको उजागर गर्न राससको अग्रसरता अपरिहार्यता रहेको बताउनुभयो । “सरकारको अवस्था जस्तो छ त्यससँग सम्बद्ध निकाय उस्तै हुन्छन्,” उहाँले भन्नुभयो, “यद्यपि राससले साविकको भन्दा बढी विकास गर्नै पर्दछ ।”

संघीयताका अल्झन धेरै भएकोले राससको व्यवस्थापनका लागि प्रादेशिक तहमा कानून बनाएर सरकारी नियममा बान्न सकिने गरी जान सके सहज हुने उहाँको भनाई थियो । उहाँका अनुसार मुलुकको विकास एवं समृद्धिका लागि राज्य र मिडियाबीचको सम्बन्ध प्रगाढ हुनपर्छ । आमसञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीमा रहेको बताउनुभएका उहाँले एकीकृत सूचना प्रणालीका बारेमा सोच बनाइएको जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले लामो इतिहास बोकेको राससले आफूलाई समयानुकूल बनाउन नसकेको टिप्पणी गर्नुभयो । सरकारी समाचार संस्थाले स्थानीय समाचारदातामार्फत काम चलाउने प्रथा रहिरहेसम्म यसले दिने सेवा चुस्त नहुने उहाँको भनाई थियो ।

नागरिक अगुवा एवं राजनीतिक विश्लेषक पिताम्बर ढकालले आकाशवाणीबाट समाचार पठाउनेदेखि आजको सूचना र प्रविधिको युगमा आइपुग्दाको इतिहासले राससको योगदान र महत्व दुवै स्पष्ट भएको बताउनुभयो । “अहिलेसम्म कर्णालीमा स्थायी कार्यालय नहुनु बिडम्बना नै हो,” विश्लेषक ढकालले भन्नुभयो, “लामो समयदेखि नेपाली पत्रकारितामा दिएको देनलाई सम्मान गर्दै प्रदेश सरकारले राससलाई स्रोत साधनयुक्त बनाएर काम गर्ने वातावरण बनाउनुपर्दछ ।”

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले रासस समाचारको मुहान भएकोले मुहान सँधै शुद्ध हुनुपर्ने सुझाव दिनुभयो । न्यूनतम शुल्क लिएर सर्वसुलभ रुपमा समाचार लिने व्यवस्था राससले गर्दा यसप्रतिको आकर्षण अँझ बढ्ने भन्दै उहाँले समाचार पठनीय र विश्वसनीय हुनुमा रिपोर्टर र डेस्क जिम्मेवार हुने जनाउनुभयो ।

वार्षिकोत्सवका सहभागीहरुले राससमा खोजी समाचार अभाव भएको, कपी र पेष्ट जस्ता समाचार आउने गरेको, समाचार कसको हो भन्ने पहिचान हुन नसकेको, अनलाईनमा आइसकेपछि धेरै पछि समाचार हाल्ने गरेको जस्ता प्रतिक्रिया राख्दै त्यसलाई व्यवस्थित बनाएर लैजानुपर्ने सुझाव दिएका थिए । रासस कर्णाली प्रदेश कार्यालयका प्रमुख शुरबहादुर सिंहले सहभागीबाट उठेका जिज्ञासाहरुलाई पृष्ठोपोषणका रुपमा आत्मसात् गरी राससको जिम्मेवारीलाई प्रभावकारी बनाएर लैजान भूमिका खेल्ने बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्