OnlinePana

आज : २०८१ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २२, २०७९सुर्खेत
५७१ पटक

२२ माघ २०७९, आइतबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पुरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ अस्पताल निर्देशक डा.डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई भने उनकी त्रिचालीस वर्षीया आमाले मिर्गौला दान गरेको थिइन् । प्रत्यारोपण कार्यमा काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं.२०७८ चैत्र १० गते सम्झौता गर्नुभएको थियो । केन्द्रबाट डा.रवि किरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिष्ट डा.सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा.सुमित आचार्य, डा.दिपा लामिछाने र रेडियोलोजिष्ट डा.समीर दवाडी संलग्न हुनुहुन्थ्यो ।

त्यस्तै, सुर्खेत अस्पतालबाट डा.पूजन बल्ल, डा.जनी बज्राचार्य, फिजिसियन डा.कुलराज शाही, ओ.टी. इन्चार्ज प्रभा रावल तथा ओ.टी र आई.सी.युमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायतका कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो ।

प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा.डम्बर खड्काले जनाउनुभयो ।

प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “अब कर्णालीका बिरामीले काठमाडौं धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु.एकसमेत खर्च गर्नु पर्दैन,” उहाँले भन्नुभयो, “यसको सेवा निरन्तर हुन्छ तर कुनैपनि हालतमा बन्द हुँदैन ।”

मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनैपनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताउनुभयो । “म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिए,” उहाँले भन्नुभयो, “सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे । मिर्गौला प्रत्यारोपण कार्य पनि सोच जस्तो भएको छ ।” अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताउनुभयो ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालकै उत्कृष्ट अस्पतालमा कर्णाली प्रदेश अस्पताल देख्न पाउँदा खुशी लागेको बताउनुभयो । मानव अंग प्रत्यारोपण गरेर ठूलो कार्य सुरुआत गरेको भन्दै त्यसको नियमितताका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्