OnlinePana

आज : २०८१ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०७९सुर्खेत
२१६ पटक

८ माघ २०७९, आइतबार

दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत छैटौं अधिकृतस्तर जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताइएको छ ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको घटनालाई लिएर यहाँस्थित विभिन्न निकाय, संघ÷संगठनले शोक विज्ञप्ति जारी गरेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै तीन स्वास्थ्य निरीक्षक (अधिकृतस्तर छैटौं)को असामयिक निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएको छ । त्यस्तै, स्वास्थ्य सेवा कार्यालय दैलेखले तीनै स्वास्थ्य अधिकृतको मृत्युले सामाजिक र पारिवारिक जीवनमै ठूलो क्षति भएको जनाएको छ । उनीहरुले शोकाकुल परिवारजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरुको देहावासनले दैलेख र सिंगो कर्णालीले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । उक्त दुर्घटनामा परी स्वास्थ्यकर्मीहरु क्रमशः दैलेख डुङ्गेश्वर गाउँपालिका ५ निवासी ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका ३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी घाइते भएका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार घाइतेपश्चात् उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएका गाडी चालक सञ्चालक वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत बस्ने सागर शाहीसहित उनीहरुको उपचारको क्रममा आजै बिहान ५ः०० बजे मृत्यु भएको थियो ।

भैरवी गाउँपालिका ५ दैलेख स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक २६ वर्षीय वीरेन्द्रराज शाहीको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखाका प्रमुखहरुलाई शनिबार एचएमआईएस, भीएसआईएस, ईएलएस सम्बन्धी तीनदिने समीक्षा गोष्ठीका लागि वीरेन्द्रनगरमा बोलाएको थियो । नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरुको प्रदेशस्तरीय बैठकमा सहभागी हुन पनि १० जिल्लाका स्वास्थ्यकर्मी सुर्खेतमा भेला आएको जनाइएको छ ।

उक्त दिनको कार्यक्रम सम्पन्नपश्चात् उनीहरु बेलुकाको खाना भेरीगंगा नगरपालिका १ सुर्खेतमा खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए । मृतक सबैको प्रदेश अस्पताल सुर्खेतमा शव परीक्षण गरी आइतबार ने परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्