OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २३, २०७९सुर्खेत
२७० पटक

२३ कात्तिक २०७९, बुधबार

कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरुमा भूकम्पको सन्त्रास बढेको छ । मंगलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका ३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिकहरुको सातो उडाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बेलुका डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जमा ९ः०७ बजे गएको ५.७ र राति २ः१२ बजे ६.६ रेक्टर स्केलको भूकम्पले डरलाग्दो झट्का दिएपछि दुवै प्रदेशका नागरिकहरुमा सन्त्रास फैलिएको छ । भूकम्पले सुदूरपश्चिमका नौ र कर्णालीका दशै जिल्लालाई प्रभावित बनाएको छ ।

मंगलबार राति भूकम्पले घर हल्लिन थालेपछि यहाँका नागरिकहरु घरबाट बाहिर खुलाचौर, सडक किनार र खेतमा जाग्राम बसेर रात बिताए । सर्लाही स्थायी घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्दै आउनुभएका पूर्ण वर्देवाले फेरि भूकम्प आउने हो कि भन्ने त्रासले रातभर जाग्राम बसेको बताउनुभयो ।

हुम्लाका दीपेन्द्र भण्डारीले अलि शक्तिशाली भूकम्प आउँदा कर्णालीका माथिल्लो बस्तीहरु ठूलो क्षति हुने बताउनुभयो । “घर पुराना छन् । भूकम्प प्रतिरोधी भवनहरु कतै पनि छैनन्,” भण्डारीले भन्नुभयो, “भूकम्पको ठूलो झट्का आउने बित्तिकै गल्र्यामगुर्लुम ढल्ने अवस्था छ ।” मंगलबारको भूकम्पले धेरैलाई भयभित बनाएको उहाँले जनाउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले कुनैपनि समयमा विनासकारी भूकम्प जान सक्ने बताउँदै त्यसबाट बच्न नागरिकहरुलाई सचेत भएर बस्न आग्रह गरिएको बताउनुभयो । “भूकम्पले मान्छे मार्दैन बरु मान्छेले बनाएका संरचनाले ज्यान लिन्छ,” उहाँले भन्नुभयो, “त्यसैले बसेको संरचना कति बलियो छ भन्ने ध्यान राखेर पूर्वतयारी गर्न अनुरोध गरेका छौं ।”

प्रतिकृया दिनुहोस्