काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
संसद नै नरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि सचिवालय बैठकमा नेताहरु आश्चर्यचकित बनेका थिए । अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य भएर पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था रहेकोमा ओलीले यस्तो प्रस्ताव गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा देखिए । बैठकमा लामो भूमिकासहित आफ्नो बचाउमा उत्रिएका ओलीले आफू प्रधानमन्त्री नहुने भए बामदेव गौतमलाई कोरोनाको महामारीपछि बनाऔं भन्दै प्रस्ताव गरेका थिए । यस्तै उनले पार्टीमा माधव नेपालको भूमिका उल्लेखनीय रहेको भन्दै माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । हाल नेकपामा ओली र प्रचण्ड अध्यक्षकाे भूमिकामा छन् ।
उनको प्रस्ताबारे नेताहरुले खासै टिप्पणी गरेनन् भने यसबारे थप छलफल गर्नेगरी बैठक सकिएको थियो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए ।
आजको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए ।
२० गतेको बैठकले सबै विषयमा मेलखाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने उनले विश्वास व्यक्त गरे ।
नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ ।
विवादका बीच ओली इतर पक्षले उनले प्रधानमन्त्री र अध्यक्ष पद छाड्नुपर्ने अडान लिँदै आएको अवस्थामा आज ओलीले यस्तो धारणा राखेका हुन् ।