OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २४, २०७९
४९६ पटक

२४ साउन २०७९, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारबाट सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हाल्नुभएको हो । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिस अनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गर्नुभएको हो ।

सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्योग मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले उद्योग मन्त्री नियुक्तिको सिफारिस आजपनि गर्न नसकेपछि उक्त मन्त्रालय सम्हाल्नु परेको मुख्यमन्त्री शाहीले बताउनुभयो । उद्योगमन्त्रीमा डोल्पा ‘ख’ बाट निर्वाचित बीरबहादुर शाहीको नाम चर्चामा आएपनि माओवादीले मन्त्रीको नाम टुङ्ग्याउन सकेको छैन ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्रालय, चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पदमबहादुर रोकायलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, गणेशप्रसाद सिंहलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालय र हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसहितको कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ ।

प्रतिकृया दिनुहोस्