OnlinePana

आज : २०८२ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३०, २०७९
३८६ पटक

३० असार २०७९, बिहीबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले कर्णालीका लुम्बिनी प्रदेशमा रहेका प्रहरी संरचना ल्याउन पहल गर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश प्रहरीको प्रमुख पद सम्हाल्नुभएका प्रहरी नायब महानिरीक्षक पोखरेलले बुधबार पत्रकारसँगको भेटघाटमा संघीयताको मर्म बमोजिम आफ्नै प्रदेश भित्रबाट सञ्चालन हुनुपर्ने संरचना लुम्बिनी प्रदेशबाट चल्नु नमिल्दो विषय हो, भन्नुभयो । भौतिक पूर्वाधारको प्रक्रियामा सरकारले सहयोग गरे ती सबै संरचना कर्णालीमा ल्याउन पहल गर्ने उहाँको भनाई थियो ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेका संघीय प्रहरी इकाई, ड्रग शाखा प्रहरी तालिम केन्द्र, दंगा नियन्त्रण प्रहरी कार्यालय, कुकुर शाखा अझै पनि बाँकेको नेपालगन्जबाट सञ्चालन हुँदै आएका छन् । “प्रदेशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने सुरक्षाका महत्वपूर्ण संरचना प्रदेश बाहिर छन्,” उहाँले भन्नुभयो, “यसले कर्णालीको शान्ति, सुरक्षा र अमनचयनमा कसरी सहयोग पुग्छ ?”

कर्णाली प्रदेशमा रहुञ्जेलसम्म यहाँको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने विश्वास दिलाउँदै उहाँले नागरिकलाई अनुभूति हुनेगरी सवारी व्यवस्थापन, लागु औषध नियन्त्रण, अपराध अनुसन्धान, सामाजिक अपराध रोकथाम र समुदायसँग प्रहरी कार्यक्रमका माध्यमबाट जनचेतना जगाउने काममा जोड दिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्