१५ फागुन २०७८, आइतबार
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिहले मोटरेबल पुलको शिलन्यास गर्नुभएको छ ।
उजा विकासमन्त्री सिंहले आज बारेकोट गाउँपालिका ८ र नलगाड नगरपालिका ५ जोड्ने नलसिंह गाडमाथि बन्न लागेको मोटरेबल पुलको शिलन्यास गर्नुभएको हो । उहाँले पुल निर्माण नहुँदा अहिलेसम्म दर्जनौं मान्छेले ज्यान गुमाइसकेको कुरालाई गम्भीरता साथ मनन् गरेर प्रदेश सरकारले निर्माण कार्य थालेको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले उक्त पुल निर्माणका लागि चालु आव.०७८÷०७९ मा रु.पाँच करोड बजेट विनियोजन गरेको छ । पुल निर्माण भने बहुर्षीय आयोजना अन्तरगत हुने जनाइएको छ । भेरी नगरपालिका १० भुरचौर सिंचाई आयोजना, लिफ्ट सिंचाई र तटबन्धको अनुगमन गर्नुभयो । त्यसैगरी, मन्त्री सिंहले बारेकोट गाउँपालिका १ जाजरकोटस्थित रु.५० लाख निर्माण कार्य सम्पन्न भएको जुनी बाल संरक्षणको भवन उद्घाटन गर्नुभएको थियो ।
त्यस्तै, जाजरकोट भेरी नगरपालिका १ स्थित पूर्वाधार विकास कार्यक्रमअन्तरगत रु.२० लाखको व्यवसायिक माध्यमिक विद्यालयको घेराबार, सोही वडाको दिपेन्द्र प्रावि रावतगाउँमा रु.२६ लाखको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत बनेको भवनको समेत उर्जा विकासमन्त्री सिंहले अनुगमन गर्नुभएको थियो ।
उहाँले प्रमुख जिल्ला अधिकारीलगायतका जाजरकोटका सम्पूर्ण कार्यालय प्रमुखहरुसँगको भेटघाट तथा छलफलमा जिल्लामा भएका समस्याका बारेमा जानकारी लिँदै देखिएका समस्या समाधानमा प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने बताउनुभयो । सो क्रममा मन्त्री सिंहले सञ्चालित आयोजनाको काममा तीव्रता दिन आवश्यक निर्देशन दिनुभयो ।