OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

शहीदको बलिदानले संघात्मक व्यवस्थमा छौंः मन्त्री नेपाली

शहीदहरुले जन्माएको प्रदेशमा शहीद बिर्सने काम नहोस्

कोरपाटी संवाददाताभाद्र ४, २०७८सुर्खेत
६७९ पटक

 ४ भाद्र २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारका सीताकुमारी नेपालीले शहीदहरुको बलिदानले मुलुक एकात्मकबाट संघात्मक व्यवस्थामा गएको बताउनुभएको छ ।

‘कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस, २०७८’ को अवसरमा याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘याम बिसी स्मृतिग्रन्थ’को विमोचन कार्यक्रममा बोल्दै कानून मन्त्री नेपालीले शहीदहरुको रगत र बलिदानले हिजोको केन्द्रीकृत राज्य व्यवस्था आज संघीय संरचनामा बदलिएको बताउनुभयो । उनीहरुकै योगदानले जनताका घरदैलोमा सरकारहरु पुगेको र अधिकारको विकेन्द्रीकरण भएको उहाँले जनाउनुभयो ।

“कर्णाली प्रदेश पनि शहीदहरुको बलिदानको उपज हो, जसलाई हामी कान्छो प्रदेशका रुपमा चिन्दछौं,” उहाँले भन्नुभयो, “जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका याम बिसी, टिकाराम गौतम र गोपालसिं रजवारको सहादतले कर्णाली प्रदेश प्राप्त गरेका छौं ।” अमर शहीदहरुको अमूल्य रगतबाट कर्णाली प्रदेशको जन्म भएकोले प्रदेश सरकारले चालु आव.०७८÷०७९ मा शहीद परिवारलाई मासिक रु.दुई हजार भत्ता दिने नीति तथा कार्यक्रम र बजेट ल्याएको मन्त्री नेपालीले बताउनुभयो ।

उहाँका अनुसार शहीद परिवारका लागि जीविकोपार्जन कार्यक्रमका साथै घाईते तथा अपाङ्गको तथ्याङ्क संकलन गर्न लागिएको छ । शहीदहरुको अमरत्व कायम गर्न वीरेन्द्रनगरमा शहीद स्मृति पार्क बनाउन थालिएको जनाउँदै मन्त्री नेपालीले प्रदेश प्राप्तिका लागि ऐतिहासिक अवसर सृजना गर्ने चारै शहीदहरुप्रति सम्झनास्वरुप आज साँझ हरेकले घर–घरमा दीप प्रज्ज्वलन गर्ने बताउनुभयो ।

शहीदहरुले जन्माएको प्रदेशमा शहीद बिर्सने काम नहोस्

कर्णाली प्रदेशवासीहरुले कान्छो प्रदेशका रुपमा जन्माईएको कर्णाली प्रदेश शहीदहरुको लगानीबाट प्राप्त भएका बताएका छन् । प्रदेश प्राप्तिको अधिकारको आन्दोलनमा यहाँका चारजना शहीदहरुले जीवन उत्सर्ग गरेपनि उनीहरुको बलिदानीको कुनै कदर नभएको गुनासो गरेका छन् ।

राहुल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी हरिमाया शर्माले परिवार गुमाउनुको भावनात्मक समस्या शहीद परिवारलाई परिरहेपनि मुलुक र समाजका लागि ठूलो योगदान भनेर मात्र चित्त बुझाउनु परेको बताउनुभयो । यद्यपि आफन्त गुमाएका परिवारको पीडा र शहीदको सपना पुरा गर्ने कार्यमा सरकारले त्यति ध्यान नदिएको उहाँले सांकेतिक भाव प्रकट गर्नुभयो ।

‘आन्दोलनको प्राप्ति शहीदको लगानीबाट मात्र भएको छ । जीवनको बलिदान भन्दा अरु ठूलो लगानी केही हुन सक्दैन,’ उहाँले भन्नुभयो ‘उनीहरुले देखाएको सपना र बाटोमा लाग्न आवश्यक छ ।’ वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका वडाध्यक्ष नन्दलाल शर्माले शहीद दिवस प्रतिष्ठानले मनाउनुपर्ने विवशता आईलागेको प्रतिक्रिया दिनुभयो ।

नेकपा माओवादी केन्द्र सुर्खेतका सचिव कृष्णबहादुर जिसीले संघीयतामा राजनीति नेतृत्वको चरित्रमा प्रमुख खोट देखिएकोले शहीदहरुले बगाएको रगत र दिएको बलिदानीको अवमूल्यन भएको बताउनुभयो । शहीदहरुको बलिदानले नागरिकहरुले आफ्नो घरदैलोमा सरकार सञ्चालन गर्न पाईरहेको जनाउँदै उहाँले सामान्य कामका लागि केन्द्र धाउनुपर्ने बाध्यता संघीयताले हटाएको दावी गर्नुभयो ।

राष्टिय जनमोर्चाका कोषाध्यक्ष विष्णुप्रसाद शर्माले शहीदहरुले देखाएको बाटोमा जान नसकेको बताउँदै संघीयताले निश्चित कार्यकतार्ल जागिर दिलाएको टिप्पणी गर्नुभयो । केही व्यक्तिहरुले काम पाएको तर्क गर्दै उहाँले प्रदेशको संरचना आवश्यक नभएको जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शहीदहरुको रगत, पसिना र बलिदानीले आज सरकारमा पुर्याएका मान्छेहरुले शहीदहरुलाई बिर्सने काम गरेको गुनासो पोखेका थिए । यसले शहीदहरुलाई अपमान गरेको उनीहरुको आक्रोश थियो ।

प्रतिकृया दिनुहोस्