OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०७८सुर्खेत
८२३ पटक

२७ साउन २०७८, बुधबार

पछिल्लो समयमा अध्ययन संस्कृति हराउँदै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ । मार्क्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेश समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा अध्ययन संस्कृति हराउँदै गएको विभिन्न विचारक, लेखक, विश्लेषक तथा अध्येताहरुले चासो देखाएका हुन् ।

उक्त भर्चुअल बैठकमा माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकार विश्वेश्वर कट्टेलले अध्ययन तथा पठनीय संस्कृति नहुँदा हरेक व्यक्तिमा भएको क्षमताको सदुपयोग नभएको र त्यस्तो अनुकूल वातावरण पनि समाजमा नरहेको बताउनुभयो । “माक्र्सवाद एउटा साधन अर्थात् हलो हो । कोहीमार्फत प्रयोग गर्ने चीज हो । हरेक व्यक्ति साधक भएर यो साधनमार्फत उद्देश्य पूर्ति गर्नुपर्दछ ।”

उहाँले अध्ययन संस्कृतिले आदर्श र विचारवान समाजको निर्माण हुने विचार व्यक्त गर्नुभयो । मार्क्सवादी मौलिकताबाट प्राप्त प्रेरणाले दलाल पूँजीवादी व्यवस्थालाई अन्त्य गर्दै समाजवादको गन्तव्यमा पुग्ने लक्ष्यका साथ अगाडि बढ्ने यात्रामा अनवरत लाग्न विचारक, लेखक तथा अध्येताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सेनाले समाज विज्ञानको रुपमा मानिएको माक्र्सवाद र यसको व्यवहारिक प्रयोगका सम्बन्धमा माक्र्सवादी ज्ञान केन्द्रले यो साउन महिनाको ११ दिने कक्षा सञ्चालनले अध्ययन संस्कृतिको विकासमा सहयोग पुगेको बताउनुभयो । “माक्र्सवादको सार्वभौम शक्तिहरु के हुन् ? बुर्जुवाले पनि अध्ययन गरेको छ । यो बुझ्न जरुरी छ,” उहाँले भन्नुभयो, “आज विश्वले गरेको विकासको आयामहरु पनि अध्ययन गर्न आवश्यक छ ।”

सम्पूर्ण जीवन नै सिकाई भएकोले उन्नत चेतनाद्वारा उन्नत सिकाई र सोचको विकास हुने भन्दै उहाँले समुन्नत समाज निर्माणका लागि अध्ययन संस्कृतिको विकास गर्न यो स्वयंसेवी आन्दोलनलाई पालिकास्तरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । अध्ययनले सिद्धान्त र व्यवहारबीच देखिएको विरोधाभासलाई हटाउने उहाँको भनाई थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश अध्यक्ष रेश्मीलाल चपाईले आफू शैक्षिक क्षेत्रमा कार्यरत भएकोले अध्ययन तथा पठनको संस्कृति विकास गर्दै लैजानेतर्फ जोड दिने बताउनुभयो । पछिल्लो समयमा नेतृत्वमा अध्ययनको कमी रहेको अध्यक्ष चपाईंको भनाई थियो । समाजवादी क्रान्तिको उद्देश्य सम्पन्नताका लागि सिद्धान्त र व्यवहारबीच देखिएको असामञ्जस्यता हट्नुपर्नेमा उहाँको जोड थियो ।
माक्र्सवादी ज्ञान केन्द्रअन्तरगत प्रदेश समितिका पदाधिकारी तथा कर्णालीका १० जिल्लाका प्रमुख एवं प्रतिनिधिहरुले शिक्षा र चेतना विकासका लागि अध्ययन अनुसन्धान अपरिहार्य रहेको बताएका थिए । प्रदेश समिति अध्यक्ष रेशम अधिकारीले कम्युनिष्टको बाहुल्यता हुँदाहुँदै समाजवादी व्यवस्था अघि बढ्न नसक्नुमा अध्ययनबाट प्राप्त हुने दर्शन र विचारलाई व्यवहारमा लागु गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।

माक्र्सवादी ज्ञान केन्द्रका कर्णाली प्रदेश समिति सचिव जयशंकर धितालले माक्र्सवादी ज्ञान केन्द्रले बढोत्तरी दिएको अध्ययन संस्कृतिले दर्शन, विचार र सहि सोचको जनशक्ति जन्माउन सघाउने बताउनुभयो । यसले हराउँदै गएको अध्ययन संस्कृतिलाई जीवन्तता दिने प्रयास गरेको गरेको जनाउँदै सचिव धितालले अध्ययन संस्कृतिविना दर्शन, सिद्धान्त, सोच र विचार जन्मन नसक्ने र त्यसका लागि जागरण अभियानमा जोड दिनुपर्ने औंल्याउनुभयो ।

भर्चुअल बैठकमा माक्सवादी केन्द्र जुम्लाका जिल्ला संयोजक पृथ्वीनारायण उपाध्यायले दर्शनले दृष्टिकोण जन्माउने र खासगरी अघाएकाबाट नभई भोकाएका, महलबाट नभई झुपडीमा दर्शनको जन्म हुने विचार प्रवाह गर्नुभयो । दर्शन विनाको मानवीय जीवन जराविनाको रुख जस्तै हुने भन्दै उहाँले भन्नुभयो, “स्वअध्ययन त छँदै थियो त्यसमा माक्र्सवादी ज्ञान केन्द्रले सञ्चालन गरेको ११ दिनको कक्षाले अँझ बढी प्रभाव पार्यो ।”

संयोजक उपाध्यायले थप्नुभयो, “माक्र्सवादी ज्ञान केन्द्र ज्ञान उत्पादनको भण्डार हो । दर्शनको स्रोत हो । दर्शन विनाका पूँजीवादी बाघहरुलाई उत्कट विचारले अन्त्य गर्दछ । असल विचार र ज्ञानले सयौं कुरामा बदलाब ल्याउन सक्छ नकि हतियारले ।”

सल्यान संयोजक रविकिरण ओलीले केन्द्रको कक्षा सञ्चालनले हराउँदै गएको अध्ययन संस्कृतिलाई यसले जीवन्तता दिने काम गरेको बताउनुभयो । सुर्खेतका प्रतिनिधि श्याम ओलीले माक्र्सवादी ज्ञान केन्द्रले साउन ९ देखि १९ गतेसम्म सञ्चालन गरेको कक्षाले उत्साहित बनाउनुको साथै प्रकृति र जगतलाई बुझ्ने अवसर दिलाएको प्रतिक्रिया दिनुभयो ।

केन्द्रका सदस्य डिल्लीप्रसाद तिवारीले माक्र्सवाद र यसको व्यवहारिक प्रयोग आवश्यक रहेको यद्यपि यो व्यवहारमा आउन नसक्दा कम्युनिष्ट आन्दोलन संकटमा परेको जनाउनुभयो । सैद्धान्तिक ज्ञान विना व्यवहारिक ज्ञान प्रयोग आउन नसक्ने भन्दै पढाई र गराई यी दुवैबीचको संयोजनले मात्र परिणाम आउन सक्ने उहाँको भनाई थियो ।

माक्र्सवादी दर्शनबाट जन्मिएर पूँजीवादी व्यवस्थामा हराउने नेतृत्वबाट कुनै आशा गर्न नसकिने ठहर गर्दै प्रदेश समितिको उक्त बैठकले हराउँदै गएको अध्ययन संस्कृतिमा माक्र्सवादी ज्ञान केन्द्रले अध्ययन तथा अनुसन्धान गर्ने बानीको विकासमा सघाएको, मानव समाजको बिगत, वर्तमान र भविश्य सिकाउने माक्र्सवादी दर्शन, सिद्धान्त र विचार सबै वर्गमा पुर्याउन अभियानात्मक ढंगले अघि बढ्ने निष्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस्