OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७६सुर्खेत
४१७ पटक

सुर्खेत, २० पुस ः अविरल पानी परिरहेको थियो । बिहानी अनि हुस्सुले अँध्यारो खुलेकै थिएन । गाडीबाट अगाडिको दृश्य हेर्न चालकलाई पटक पटक वाईपरको साहयता लिनुपथ्र्यो । कच्ची अनि हिलाम्मे आवतजावतको कल्पना नगरिएको बाटोबाट आज बिहान कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी कृषककै दैलोमा पुगेपछि सुर्खेत लेकबेसी नगरपालिका १० साटाखानीका स्थानीयहरु दंग परे ।
मन्त्री केसीसँगै कर्णाली प्रदेशसभा नेकपाका सचेतक सीताकुमारी नेपाली, युवा नेतृ हरिमाया शर्मासहित साटाखानीमा पुग्नुभएको थियो । प्रमुख सचेतकसँग कृषिमन्त्री ल्याउन पटकपटक गुहारेका किसानलाई त्यस्तो झरीमा सरकारका मान्छे दैलोमा आउलान् भन्ने पत्यार लागेको थिएन ।
हिमाली जिल्लामा भारी हिमपातसँगै शुक्रबारदेखि मुलुकभरको वर्षाले यहाँको हवाई तथा स्थलगत यातायात प्रभावित थियो । यद्यपि खराब मौसमको बीचमा मन्त्री नै घरदैलोमा पुगेपछि स्थानीयबासी निकै खुशी बने र एकैछिन सबै भेला भएर पहिलो पटक दैलौमै पुगेका कृषिमन्त्रीलाई स्वागत पनि गरे ।
साटाखानी पुग्नुभएका मन्त्री केसीले शुरुमा देवकी बराल चपाईको गायत्री कृषि फार्म अवलोकन गर्नुभयो । अवलोकनको क्रममा विसं.२०६८ सालमा स्थापना गरिएको सो फर्मको लगानी रु.४३ लाख रहेको व्यवस्थापक दीपेन्द्र चपाईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट वार्षिक रु.छ प्रतिशत ब्याजका दरले रु.१८ लाख, एउटा अर्को संस्थाको रु.पाँच ऋण छ । फर्ममा बाँकी आफ्नै लगानी आफैले गरेको छु ।”
होलिस्टिन जातका १४ गाई रहेको उक्त फर्म देखेर मन्त्री केसीले सञ्चालक देवकी र व्यवस्थापक दिपेन्द्र चपाईको उच्च प्रशंसा गर्नुभयो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री केसीले भन्नुभयो, “निकै राम्रो मेहनत गर्नुभएको रहेछ । तपाई एउटा उदाहरणीय कृषक हो । तपाई जस्ता व्यवसायिक किसानहरुलाई सरकारले प्रोत्साहन सहयोग गर्न तयार छ ।”
झरीमा मन्त्री केसी पशुपालक कृषक ताराकेशर लामिछानेको गाई र भैसी पालन व्यवसायको पनि निरीक्षण गर्नुभयो । उक्त क्षेत्रका गोठ गोठमा पुगेर उहाँले पशुपालनको व्यवस्थापन, समस्या र चुनौतिको अवस्था नियाल्नुभयो ।
तरकारी बाली र पशुपालनको संभाव्य क्षेत्रको स्थलगत भ्रमण गर्नुभएका उहाँले त्यसलाई तरकारी र दुध उत्पादन क्षेत्रका रुपमा विकास गर्दै लैजाने विश्वास दिलाउनुभयो । त्यस क्रममा उहाँले लेकबेसी नगरपालिकाका १० का साटाखानी, साटाफाँट र दुबीचौर बस्ती अवलकोन गर्नुभएको थियो ।
दुधको बजारीकरणमा समस्या
गायत्री कृषि फर्मका व्यवस्थापक दीपेन्द्र चपाईले लेकबेसी नगरपालिकको ८,९ र १० मा पर्ने साटाखानी दुध क्षेत्र भएको जानकारी दिनुभयो । “प्रतिदिन एक हजार लिटर भन्दा बढी दुध यहाँ उत्पादन हुन्छ तर बाटो र बजारीकरणको सहज नहुँदा किसानहरु मर्का छन्,” व्यवस्थापक चपाईले भन्नुभयो ।
सोही वडाका पशुपालक कृषक ताराकेशर लामिछानेले समेत दुध उत्पादन भन्दा बजारीकरणमा समस्या भएको बताउनुभयो । “पशुपालन व्यवसायबाट उत्पादित दुध र कृषि उपजका वस्तु खपत नहुने हो भने कसरी व्यवसाय गर्ने होला,” चिन्ता प्रकट गर्दै लामिछानेले भन्नुभयो, “बाटो र बजारीकरण नहुनु हाम्रो प्रमुख समस्या हो । यसमा हामीलाई सरकारको सहयोग आवश्यक छ ।”
उहाँका अनुसार बजार अभावले यहाँका पशुपालक किसानले रु.४८–५० मा दुध बेच्नुपर्ने बाध्यता छ । सृजनशील सामुदायिक अपाङ्ग कृषि तथा पशुपालन सहकारी लिमिटेडका सदस्य जानकी पुन मगरले कृषिजन्य वस्तुको उत्पादनका लागि सिंचाईको समस्या भएको बताउनुभयो । कृषिमन्त्री केसीले सिंचाई व्यवस्थाका निम्ति कृषि क्षेत्र विकास कार्यक्रममार्फत सहयोग गर्ने जनाउनुभयो ।
दुध बजारीकरणका लागि किसानहरुलाई चिन्ता नगर्न उहाँले आग्रह गर्नुभयो । “बीरेन्द्रनगर नगरपालिकास्थित औद्योगिक क्षेत्रमा निर्मित डेरी उद्योगले तपाईको दुध खपत गर्ने वातावरण बनाउछु,” मन्त्री केसीले भन्नुभयो, “सरकार अर्गानिक प्रदेश निर्माण अभियानमा सफल बनाउने व्यवसायिक कृषकहरुलाई लगानी गर्छ ।”
हाल उक्त बस्तीमा रहेका ७२ घरधुरीले होलिस्टन जातका एक सय बढी गाईपालन गरिरहेका छन् । २५–३० बिगाह क्षेत्रफलको जमीन रेहेको साटाखानी बस्तीका समुदायले दुधबाटै वार्षिक रु.एक करोड ८० लाख भित्र्याउने गरेको पाईएको छ ।

प्रतिकृया दिनुहोस्