OnlinePana

आज : २०७८ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०७८काठमाडौं
२०० पटक

२० असार २०७८, आईतबार

असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् ।

१२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो । त्यसमध्ये तीन किलोमिटर खण्डको पिच भत्किएको छ । निर्माण कम्पनीले हतारहतारमा राति पानी परेको समयमा सडक पिच गरेकाले एक महिना नपुग्दै भत्किएको स्थानीय सुजन लामाले बताए । ‘पिच गर्नुअघि राम्ररी रोलरसमेत लगाइएन । २०–२५ दिनअगाडि राति पानी परेको वेला हतारहतार सडक पिच गरिएको थियो, अनि किन नभत्किओस् त,’ उनले भने ।

वडा नम्बर १३ का अध्यक्ष मिलन सुनुवारले पिच गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको बताए । ‘बेस (ढुंगा, गिटी, बालुवा राखेर पेल्ने काम) राखेर काम गर्दा कमजोरी देखिन्थ्यो । यो बाटो निर्माण गर्दा प्रक्रिया पुगेन कि भनेर मैले भनेको थिएँ, तर इन्जिनियरहरूले सबै ठीक छ, राम्रो छ भने,’ उनले भने, ‘आफू प्राविधिक मान्छे परिएन । प्राविधिकहरूले भनेको ठिकै त होला नि भनेर चुप लागे । अहिले त एक महिना नहुँदै पिच उप्कियो ।’

स्थानीय पूर्वाधार विभागले १५ पुस ०७५ मा सडक निर्माणका लागि २५ करोड ८० लाखमा इसिआई कन्काई जेभीलाई ठेक्का दिएको थियो । कन्काई जेभीले सिन्धुलीको इमानुवल निर्माण कम्पनीलाई स्थानीय ठेकेदार तोकेर ६ महिनापछि निर्माण कार्य सुरु गरेको थियो । सडकको पिच तीन सेन्टिमिटर बाक्लो हुनुपर्ने सम्झौता छ ।

सडकको चौडाइ ४.५ मिटर छ । तुलनात्मक रूपमा साँघुरो सडकको दायाँ–बायाँ पानीको निकासका लागि पूरै खण्डमा ढल छैन । केही खण्डमा ढल बनाइए पनि सानो र ठूलो वर्षामा निकास दिन नसकिनेछ । यो सडक निर्माणाधीन मदन भण्डारी राजमार्ग जोड्ने सहायक सडक हो । बाटोको दुवै छेउको भित्ताबाट माटो खस्ने र बाटो पुरिने पनि भइरहेको वडाध्यक्ष सुुनुवारले बताए । ‘भत्केको त भत्किहाल्यो । अरूतिर पनि माटोले बाटो पुरिने, कटान हुने क्रम जारी छ,’ उनले भने ।

इमानुवलका सञ्चालक छत्र बम्जनले एक महिनाअघि निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारी हुँदै गर्दा बाढीले बाटो भत्किएको बताए । ‘सडक निर्माणमा कुनै कमजोरी छैन । बाटोको छेउमा एउटा खोल्सा थियो । १६ गते राति ठूलो पानी परेर खोल्सा उर्लिएर बाटोमा आएछ,’ उनले भने, ‘बाटोमा पानीको निकासका लागि कुलो छैन । त्यसैले जमेको पानीले भर्खर निर्माण भएको सडकमा क्षति गरेको हो ।’

बम्जनले निर्माण कार्यमा कुनै सम्झौता नगरिएको दाबी गरे । ‘भत्केको बाटो मात्र होइन, मैले सबैतिर चार सेन्टिमिटर बाक्लो पिच गरेको छु,’ उनले दाबी गरे, ‘मैले सडक बनाउने क्रममा गुणस्तरमा कुनै सम्झौता गरेको छैन ।’

सम्झौताअनुसार यो सडक गत वर्षको मंसिरमै सम्पन्न हुनुपर्ने थियो । समयमै काम नसकिएपछि आगामी पुससम्मका लागि म्याद थप गरिएको थियो । इमानुवलका सञ्चालक बम्जनले ठेक्का पाएको ६ महिनासम्म काम गर्ने स्वीकृति नपाउँदा निर्माण सुरु गर्न नै ढिलाइ भएको बताए । त्यस्तै, निर्माण अन्तिम चरणमा पुग्दै गर्दा गत वर्ष र यो पालिको कोरोना महामारीले पनि काम प्रभावित भएको उनको दाबी छ ।

दुई वर्षमा निर्माण सम्पन्न गरी थप तीन वर्षसम्म मर्मतसम्भारसमेत गर्नुपर्ने गरी ठेक्का लगाइएको थियो । तर, निर्माण सम्पन्न भएको एक महिनामै भत्किएपछि सर्वत्र आलोचना भएको छ । आलोचनापछि निर्माण कम्पनीले भत्किएको बाटो आफ्नै खर्चमा बनाउने बम्जनले बताए । ‘मलाई कम्तीमा पनि ४०÷५० लाखको क्षति भएको छ । यो मेरै खर्चमा बनाइदिन्छु,’ उनले भने । बाटोको गुणस्तरका बारेमा जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधिलगायतलाई आइतबार निरीक्षणका लागि लैजान लागेको उनले बताए । ‘मैले गुणस्तरहीन काम गरेको रहेछु भने जस्तोसुकै सजाय भोग्न तयार छु । जेल पनि जान तयार छु,’ उनले भने ।

पूर्वाधार विकास विभागका मातहत सडकको नियमन गरेका इन्जिनियर राजेन्द्र भण्डारीले तोकिएको मापदण्डअनुसार नै सडक बनेको दाबी गरे । निर्माण सम्पन्न भएको तीन वर्षसम्म कुनै समस्या आए मर्मतसम्भार गर्नुपर्ने सम्झौता भएकाले अहिलेको क्षति निर्माण कम्पनीले नै बेहोर्ने उनले बताए । ‘३० एमएमको पिच गरेको भए पनि खोलामा आएको बाढीले त्यहाँ हालिएको ह्युम पाइप टालिएर पानी सडकमा आयो र त्यसले बाटो बिगारेको हो,’ भण्डारीले भने ।

निर्माण सुरु गर्दा नै प्रक्रिया पुगेन भनेको थिएँ : मिलन सुनुवार, वडाध्यक्ष, दुधौली नगरपालिका–१३

बेस (ढुङ्गा, गिटी, बालुवा राखेर पेल्ने काम) राखेर काम गर्दा कमजोरी देखिन्थ्यो । यो बाटो निर्माण गर्दा प्रक्रिया पुगेन कि भनेर मैले भनेको थिएँ तर, इन्जिनियरहरूले सबै ठीक छ, राम्रो छ भने । आफु प्राविधिक मान्छे परिएन । प्राविधिकहरूले भनेको ठीकै त होला नि भनेर चुप लागे । अहिले त एक महिना नहुँदै पिच उप्कियो । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्