OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १४, २०७६सुर्खेत
१३०३ पटक

सुर्खेत, १४ मंसिर ः मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुर्खेतमा पहिलो पटक ‘लोकवार्ता विज्ञान अध्ययन प्रतिष्ठान’ नेपाल गठन गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज भेलाको आयोजनागरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तरगत लोकवार्ता तथा साँस्कृतिक अध्ययन विषयमा अध्ययनरत छात्र यज्ञप्रसाद ढकालको अध्यक्षतामा प्रतिष्ठान नेपालको सात सदस्यीय तदर्थ समिति गठन भएको हो । तदर्थ समितिको उपाध्यक्षमा शुरबहादुर सिंह, महासचिवमा घनश्याम खड्का, सचिवमा लोकेन्द्र बिसी, कोषाध्यक्षमा महेश शर्मा, सदस्यमा द्वय टंकप्रसाद खनाल र शान्ति विक चयन हुनुभएको छ ।
विसं.२०७५ सालदेखि नेपालमा पहिलो पटक मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन अध्यापन शुरु भएको लोकवार्ता तथा साँस्कृतिक अध्ययन विषयमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीहरुबाट प्रतिष्ठान गठन गरिएको गठित समितिका अध्यक्ष ढकालले बताउनुभयो । “भाषा, सभ्यता र संस्कृतिको मुहान् कर्णाली प्रदेशबाट लोकवार्ताको खोज, अनुसन्धान तथा अन्वेषण गर्ने उद्देश्यले प्रतिष्ठान गरिएको हो,” उहाँले भन्नुभयो, “यसले यहाँको कला, साहित्य, संस्कृतिको सम्पन्नतालाई उजागर गर्नेछ ।”
त्यसैगरी, प्राध्यापक डा.चुडामणि बन्धुको संयोजकत्वमा प्रतिष्ठान नेपालको सात सदस्यीय सल्लाहकार समिति पनि चयन भएको छ । सल्लाहकार समितिका सदस्यहरुमा प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.खोपीराम लम्साल, उपप्रध्यापकहरु तेजविक्रम बस्नेत, खगेन्द्रप्रसाद अधिकारी, भानुभक्त अधिकारी र यामराज शर्मा रहनुभएको प्रतिष्ठान नेपालका महासचिव घनश्याम खड्काले जानकारी दिनुभयो । भेलामा भाषा, संस्कृति, कला, साहित्य क्षेत्रका विद्वान, संस्कृतिविद्, भाषासेवी, बुद्धिजीवि, शिक्षाप्रेमी र लोकवार्ता विषय अध्ययनरत शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्