OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०७८सुर्खेत
११४३ पटक

 ८ जेठ २०७८, शनिबार

नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, उद्योग, कलकारखाना, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज, विश्वविद्यालय सम्पूर्ण बन्द छन् ।

त्यस्तै, बन्दको प्रत्यक्ष मारमा विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छन् । शहरी क्षेत्रमा अनलाईनका माध्यमबाट शिक्षण क्रियाकलाप भएपनि ग्रामीण दुर्गम भेकमा अध्ययनरत विद्यार्थीहरुका लागि यो संभावना छैन । जसको कारणले बालबालकिाको पठनपाठन मात्र नभई उनीहरुको मनोविज्ञानमा समेत प्रत्यक्ष असर पर्दै गएको छ ।

कोरोना कहरबाट उब्जेको संकटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक ‘तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन’ भर्चुअल कार्यक्रम आजबाट सञ्चालन गरेको छ । कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियान्ता श्रीमन्त भट्टराईले बाल ‘मनोविज्ञान र व्यवहारिक सिकाई’का विषयमा आफ्नो प्रस्तुति राख्नुभयो ।

अभियान्ता भट्टराईले कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यवहारिक शिक्षा दिने उत्तम अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डिग्री चाहान्छौं, सीप चाहान्नौं । अंक चाहान्छौं तर संस्कार र नैतिकता चाहान्नौं । हाम्रो शिक्षा व्यवहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो जसले युवा जनशक्तिलाई विशेष भाँसिन बाध्य बनायो ।”

पढेर भन्दा गरेर सिकिने ज्ञान व्यवहारिक हुने भन्दै अभियान्ता भट्टराईले यो समयमा घरमै बालबालिकालाई तार जोड्न, खाना पकाउन, भाँडा माझ्न, सरसफाई गर्न, करेसाबारीमा काम गर्न, वातावरण अनुसारको रोजाईको काम गर्ने अवसर प्रदान गर्न अभिभावक तथा शिक्षकहरुलाई सल्लाह दिनुभयो ।

सूचना र प्रविधिको विकास नहुँदै बालबालिकाका लागि डा.मारिया मन्टेश्वरीले शुरु गरेको विधि बमोजिम बाल मनोविज्ञान बुझेर उनीहरुलाई सिक्ने वातावरण तयार गर्न सकेमात्र शिक्षक, अभिभावक र विद्यार्थीको साझा उद्देश्य पुरा हुने उहाँको भनाई थियो । यद्यपि बालबालिकालाई घर र सामाजिक वातावरणले प्रदान गर्ने संस्कार भने राम्रो हुनुपर्नेमा उहाँको जोड थियो ।

उक्त भर्चुअल प्रवचन कार्यक्रममा नेपाल मनोक्रान्तिका द्रष्टा तथा दार्शनिक डा.योगी विकाशानन्दले कोरोना महामारीको यस संकटपूर्ण अवस्थामा बोक्रे शक्ति र गुदी शक्तिले काम गरेको तर्क गर्नुभयो । “कोरोनाले मर्छ र भ्याक्सिनले बचाउँछ । यो बोक्रे शक्ति हो,“ उहाँले भन्नुभयो, “रोग प्रतिरक्षात्मक शक्ति प्रणाली कमजोर हुँदा मान्छे मर्छ यो गुदी शक्ति हो ।”

उहाँले प्रतिरक्षा प्रणाली बचाउन अश्वगन्धाको प्रयोग, ध्यान, योगा नै कोरोना विरुद्धको ठूलो भ्याक्सिन भएको दावी गर्नुभयो । भात घटाएर ग्रीन सलाद खान र भिटामिन ‘डी’ लिन आग्रह गर्दै डा.योगीले प्रतिरक्षा प्रणाली बलियो बनाउने पाठ्यक्रम बनाउन सरकारलाई सुझाव दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीसँग करिब सबैपक्ष जोडिने कुरालाई केन्द्रमा राखेर ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ दिने प्रमुख उद्देश्यले ‘तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन’ कार्यक्रम गरिएको बताउनुभयो । उक्त कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी ८११ जनाको सहभागिता रहेको थियो । आजबाट शुरु भएको प्रवचन कार्यक्रम जेठ १० गतेसम्म सञ्चालन हुने आयोजक शिक्षक संगठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्