OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७६जुम्ला
५२९ पटक

जुम्ला, १४ भदौ ः नेपालको पहिलो प्राङ्गारिक घोषित जिल्ला जुम्लामा दोस्रो ‘स्याउ महोत्सव’ शुरु भएको छ ।
ः काञ्जिरोवा टाईम्स मासिकद्वारा आज ‘स्याउ महोत्सव’ को आयोजना गरिएको हो । उक्त ‘स्याउ महोत्सव’को उद्घाटन कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले गर्नुभयो ।
महोत्सवको उद्घाटन गर्दै कृषिमन्त्री केसीले कर्णाली प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको ‘स्याउ महोत्सव’ले यहाँका किसानहरुको आम्दानीमा बढावा पुग्ने बताउनुभयो । “जुम्ला कर्णाली मात्र होइन, सिंगो नेपालको परिचित अर्गानिक भूमि हो,” मन्त्री केसीले भन्नुभयो, “स्याउको खातमा बसेर महोत्सवको उद्घाटन गर्न पाउँदा निकै गर्व लागेर आएको छ ।”
महोत्सवले कर्णाली प्रदेश सरकारको अर्गानिक अभियानमा सहयोग पुग्ने भन्दै उहाँले अगाडि भन्नुभयो, “प्रथमतः जुम्लामा स्याउ प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन जरुरी छ । स्याउ किसानका लागि बजारीकरण र बाटो चुनौति बनेको छ । किसानहरुका यी समस्याहरुलाई समाधान गर्न प्रदेश सरकारले योजना बनाई रहेको छ ।”
बहुआयमिक कोल्ड स्टोर निर्माणका लागि प्रदेश सरकारले जुम्लामा रु.एक करोड ५० लाख बजेट विनियोजन गरेको जनाउनुभएका उहाँले व्यवसायिक किसानका लागि सस्तो ऋणको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार उत्पादन परिमाणका आधार किसानहरुलाई अनुदान उपलब्ध गराईनेछ । स्याउ, सिमी, ओखर, कालीमार्सी धान, जडिबुटीसहित धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं पर्यापर्यटनको प्रचुर संभावनालाई अवसरमा बदल्नु आजको आवश्यकता रहेको उहाँको भनाई थियो ।
मन्तव्यको क्रममा मन्त्री केसीले भन्नुभयो, “जुम्ला स्याउको हब हो । अहिले जुम्लीबासीको घरघरमा स्याउ छ । स्याउकै खाजा खान पाईन्छ । स्याउले नै स्वागत गरेको पाउँदा यहाँका नागरिकहरु निकै सम्पन्न भएको जस्तो अनुभूति भईरहेको छ ।” किसानहरुलाई प्रवद्र्धन गर्न किसानमुखी कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको उहाँको भनाई थियो ।
कर्णाली प्रदेशसभाका सदस्यय दीनबन्धु श्रेष्ठले स्याउ, सिमी यहाँका नागरिकहरुको आम्दानीको मूल आधार भएको बताउनुभयो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले स्याउ किसानहरुलाई प्रवद्र्धन गर्न अनुदान आवश्यक रहेकोमा जोड दिनुभयो । चन्दननाथ नगरपालिकाका जुम्लाका प्रमुख कान्तिका सेजुवालले स्याउ किसानहरुलाई प्रोत्साहित हुने खालका कार्यक्रममा सबै सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुयभयो ।
महोत्सवमा ११३ भन्दा बढी किसानहरुले रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन जातका स्याउ प्रदर्शनी गरिएको थियो । त्यसैगरी, महोत्सवमा स्याउबाट निर्मित जुस, जाम, जेली, मार्फालगायतका विभिन्न प्रकारका परिकारहरु पनि राखिएको थियो ।
वर्षेनी जुम्लामा यस सिजनमा स्याउ उत्पादन हुने तर त्यसको उचित बजारीकरण अभावले किसानहरुले मारमा पर्नुपर्ने बाध्यता हटाउने हेतुले ‘स्याउ महोत्सव’को आयोजना गरिएको काञ्जिरोवा टाईम्सका प्रबन्ध निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो । निर्देशक कार्कीका अनुसार महोत्सव पाँच हजारले अवलोकन गरेका छन् ।
उक्त कार्यक्रममा गुठीचोर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी, पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोरा, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीलगायतले स्याउ र मासी धानलाई हाई अल्टिच्यूडको ब्रान्ड बनाउने पहलमा अघि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्