OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २०, २०७८सुर्खेत
७६४ पटक

२० बैशाख २०७८, सोमबार

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कर्णाली प्रदेशमा आज थप पाँजना कोरोना संक्रमतिहरुको मृत्यु भएको छ । हिजो तीनले ज्यान गुमाएका थिए ।

संक्रमणबाट ज्यान गुमाउनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं.७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । संक्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको निमित्त निर्देशक डा.खड्काले बताउनुभयो ।

उहाँका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आईतबार सुर्खेत सिम्ता गाउँपालिका ८ का ३०, लेकबेसी नगरपालिका ८ का ६८ र पञ्चपुरी नगरपालिका ११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

आज पाँच र आईतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० जना (४० प्रतिशत) मा कोरोना संक्रमण पुष्टि भएको निमित्त निर्देशक डा.खड्काले बताउनुभयो ।

त्यस्तै, यो प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका नौ हजार १२८ संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ जना (८३ प्रतिशत) निको भएर घर फर्केका छन् । स्वास्थ्य निर्देशनलायका अनुसार दुई हजार १९४ जना संक्रमितहरु प्रदेशका विभिन्न आइसोलेशन रहेका छन् ।

प्रतिकृया दिनुहोस्