OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १८, २०७८सुर्खेत
४७७ पटक

१८ बैशाख २०७८, शनिबार

सुर्खेतमा यही बैशाख १४ गतेदेखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञामा भने मानव जीवनका लागि अत्यावश्यक खाद्यान्न, फलफुल, तरकारी, स्वास्थ्यसँग सम्बन्धित पसलहरु खुला गरिएको छ । निषेधाज्ञामा खोलिएका ती पसलहरुको समेत आजु स्थलगत अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा आज यहाँका मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताउनुभयो । उहाँले भन्नुभयो, “मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री दरलगायतको वारेमा बुझिएको छ ।”

वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेलको प्रति पोका रु.१३९ भएर आएको र पिठोको मूल्यसमेतमा वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताउनुभयो । तेलको मूल्यको विषयमा विभागसँग बुझेर त्यसको मूल्य नियन्त्रण गर्ने उहाँले जनाउनुभयो ।

दैनिक उपभोग्य वस्तुहरु ल्याएको कुनैपनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्य वृद्धि गराएको पाइए कारवाही गरिने चेतावनी दिँदै उहाँले व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामानहरु बिक्रीवितरण गर्न सुझाव दिएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी महतका अनुसार बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरुपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिईएको छ ।

निषेधाज्ञाको समयमा गरिएको अनुगमनबाट उपभोक्ता तथा सर्वसाधारणहरुलाई व्यापारीहरुले ठगी गर्न नपाउने र यो निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अनुगमनमा प्रशासनसहित उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ सुर्खेत र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्