OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १६, २०७८काठमाडौं
३०३ पटक

१६ बैशाख २०७८, बिहीबार

आसन्न जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दल सहभागी हुने भएका छन् । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचनमा दल दर्ता हुन आएका नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी जम्मा पाँच राजनीतिक दल रहेका छन् ।

निर्वाचन आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पाँच राजनीतिक दलको नामावली राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिन्ह र क्रम १, नेपाली काँग्रेसलाई रुख चिन्ह क्रम २, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश गर्ने भएको छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली पनि निर्वाचन आयोगले स्वीकृत गरेको छ ।

स्वीकृत भएको मतदाता नामावली वैशाख २१ गते बिहान ११ः०० बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको विहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लेखित मतदाताको विरोधमा उजूरी दिन सकिने व्यवस्था गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्