OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १४, २०७८सुर्खेत
३७८ पटक

 १४ बैशाख २०७८, मंगलबार

कर्णाली प्रदेशसभाको सातौ अधिवेशनको तेस्रो बैठकमा प्रदेश दुईवटा विधेयक माथि विशेष छलफल भएको छ ।

बैठका प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रस्ताव राख्न अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र सामाजिक विकासमन्त्री बिमला केसीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६’ सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्ताव गर्नुभयो ।

प्रस्तावित विधेयकको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जीवनबहादुर शाही, ठम्मर विष्ट, मिनासिं रखाल, यज्ञबहादुर बिसी र सोशिला शाही, दल रावल, पद्मा खड्का, पदमबहादुर रोकाय र रातो कामीले आफ्नो धारणा राख्नुभयो । छलफलपश्चात् सभामुखको भूमिका निर्वाह गर्दै उपसभामुख पुष्पा घर्तीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, व्यवस्थापन तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६’ संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको सूचना गर्नुभयो ।

बैठकमा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह राष्ट्रिय वनको संरक्षण तथा सुव्यवस्था गर्न बनेको विधेयक २०७७, संशोधन प्रस्तावसहितको प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो ।

त्यस्तै कानूनमन्त्री भण्डारीले ‘कर्णाली सूचना प्रविधि तथा आम सञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न विधेयक २०७७,’ ‘शान्ति तथा पुनःस्थापना केन्द्र व्यवस्था गर्न बनेको विधेयक, २०७७’, ‘कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७७,’ ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७७’ सभासमक्ष टेबुल गर्नुभयो ।

सभामुख शाहीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, व्यवस्थापन तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६’ संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको सूचना गर्नुभयो । प्रदेशसभाको चौथो बैठक बैशाख १५ गते बुधबार दिउसो २ः०० बजे हुने सभामुख शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्