OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०७८सुर्खेत
७५४ पटक

१३ बैशाख २०७८ सोमबार 

कर्णाली, १३ बैशाख (रासस) कर्णाली प्रदेशसभाको सातौ अधिवेशनको दोस्रो बैठकबाट दुई अध्यादेश सर्वसम्मत पारित भएका छन् । दुईवटा विधेयक भने प्रदेशसभामा टेबुल गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामलिा तथा कानूनमन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधि नियमित गर्ने पहिलो संशोधन अध्यादेश, २०७७ र प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७७, स्वीकृत गरियोस् भनि सभासमक्ष प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित दुवै अध्यादेश सभाबाट सर्वसम्मत पारित भएका छन् ।
कानूनमन्त्री भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७७ सभासमक्ष टेबुल गर्नुभयो । यता सामाजिक विकासमन्त्री बिमला केसीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६ सभासमक्ष टेबुल गर्नुभयो ।

त्यस्तै सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधन प्रस्ताव परी भएको छलफलको प्रतिवेदन पेश गर्नुभएको थियो ।

बैठकको विशेष समयमा बोल्दै नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकारलाई जनभावना अनुरुप अगाडि बढाउने मामिलामा सहयोग रहने बताउनुभयो । बैशाख ३ गतेको घटनालाई स्मरण गर्दै उहाँले कतिपय प्रदुषित कुराले नेकपा एमाले राष्ट्रप्यापी चर्चाको विषय बनेको र कर्णालीमा घटित घटना राजनीतिक अपराध भएको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले कर्णालीमा कोभिडको भयावह अवस्था देखापरेको जनाउँदै यसको व्यवस्थापनमा सरकारले ढिला गर्न नहुनेमा जोड दिनुभयो । त्यसैगरी, प्रदेशसभा सदस्यद्वय ठम्मर विष्ट र पद्मा खड्काले कोरोनासँग सम्बन्धित चिकित्सकहरुको अभाव रहेको औंल्याउँदै प्रदेश सरकारले समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने सुझाव दिनुभएको थियो ।
प्रदेशसभाको तेस्रो बैठक बैशाख १४ गते दिउसो २ः०० बजे हुने सभामुख शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्