OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०७८सुर्खेत
७९१ पटक

१३ बैशाख २०७८ सोमबार

कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आईतबार सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकास र समृद्धि सपना पुरा गर्न निर्माण गरिएको पञ्चवर्षीय योजना कार्यान्वयनमा सबै तहका सरकारको भूमि प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

“यो दोस्रो बैठकले यहाँको विकासका आयामहरु र त्यसले नागरिकहरुको जीवनस्तर उत्थान गर्न चालिने कदममा संघ, प्रदेश र स्थानीय तहका समन्वय र सहकार्य आवश्यक छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “सबैको साझा प्रयास र ऐक्यवद्धताबाट राज्यले लिएको अपेक्षित लक्ष्य हाँसिल गर्न सकिन्छ ।”

बैठकमा कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले पञ्चवर्षीय योजनाका साथै २५ वर्षीय कर्णाली सरकारको दीर्घकालीन् योजनाको लक्ष्यका बारेमा पनि बैठकमा प्रष्ट्याउनुभयो ।

त्यस्तै, बैठकमा आयोगका सदस्य डा.रोकायले चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेट सम्बन्धीको कार्यपत्र प्रस्तुत गर्नुभयो । आयोगका अर्का सदस्य योगेन्द्र शाही प्रदेश सरकारको परियोजना बैंक तथा लगानी सम्मेलन र आर्थिक मामिला मन्त्रालयका उपसचिव दिव्यराज पोखरेलले सह–लगानीका सम्बन्धमा आफ्ना प्रस्तुतिहरु राख्नुभयो ।

बैठकका सह–अध्यक्षको रुपमा आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, लब्धप्रतिष्ठित, विज्ञ तथा सरोकारवालाहरुबाट आएका सुझाव सल्लाह लिएर प्रदेश सरकार अगाडि बढ्ने जनाउनुभयो । उहाँले जनशक्ति अभाव, कोरोना महामारी तथा भौगोलिक विकटता बजेट कार्यान्वयनको प्रमुख चुनौति भएको जनाउँदै त्यसको व्यवस्थापनमा विशेष जोड दिईने विचार व्यक्त गर्नुभयो ।

भर्चुअल माध्यमबाट सञ्चालन भएको सो बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा दलका प्रमुख नेताहरु, समितिका अध्यक्षहरु, आयोगका पदाधिकारीहरु, प्रदेश सचिवहरु, जिल्ला समन्वय प्रमुखहरु, नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षहरु, कर्णाली विज्ञ समुहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । परिषद् अधिकांश सदस्यहरुले वितरणमुखी नभई ठोसरुपमा योजना लागू हुन सकेमात्र कर्णाली विकास र समृद्धि संभव रहेको सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्