OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १२, २०७७सुर्खेत
५४२ पटक

 

 १२ फागुन २०७७, बुधबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको उद्घाटन गर्नुभएको छ ।

उहाँले प्रदेश अस्पतालमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको आजै उद्घाटन गर्नुभएको छ । सेवा उद्घाटन गर्दै मन्त्री रावलले प्रदेश अस्पतालको अभाव जनशक्ति र आवश्यक उपकरणको प्रभावकारी व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले भण्डारण गरिएका उपकरणहरुलाई जतिसक्दो सञ्चालनमा ल्याउने जनाउनुभयो ।

मन्त्री रावलले भन्नुभयो, “प्रदेश सरकारले जनशक्ति अभाव हुन दिदैन । नवनिर्मित ३०० शैयाको अस्पतालमा अब आउँदो वैशाखमा सर्छौ र कोभिड–१९ को समयमा प्रोजेक्ट विशेष लिइएको विशेषज्ञ सेवा र सामुदायिक नर्सिङमा राखेका जनशक्तिको समस्या व्यवस्थापनका लागि बजेट संशोधन गरेर पनि सम्बोधन गर्छौ ।”

उहाँले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्माण हुँदै गरेका मोडुलर अपरेशन थियटर, मातृशिश वार्ड, प्रदेश अस्पतालले ३०० शैयाका लागि खरीद गरेका यान्त्रिक उपकरण तथा सामग्रीहरुको अवलोकन र मौज्दात तथा अभाव जनशक्तिबारे जानकारी लिनुभएको थियो । केही समय लागेपनि राजधानीमा रहेको प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिकलाई सहज र सर्वसुलभ सेवा दिने मन्त्री रावलको भनाई थियो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले हाल २७ जनाको बिरामीको निःशुल्क डायलासिस भईरहेको जानकारी दिनुभयो । निर्देशक डा.खड्काले अस्पतालकै जिम्मेवार व्यक्तिका कारण ३०० शैयाका लागि खरीद गरिएका यान्त्रिक उपकरणको सञ्चालन र व्यवस्थापन गर्न कठिनाई भएको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्