OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का

स्थानीयले गरे २८ रोपनी जग्गादान

कोरपाटी संवाददाताफागुन ११, २०७७सुर्खेत
१२५९ पटक

११ फागुन २०७७, मंगलबार

अब राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का भएको छ । अस्पताल निर्माणका लागि दैलेख आठबिस नगरपालिका ३ कुमालखाँडाका स्थानीयले १०० शैयाको अस्पतालका २८ रोपनी जग्गा दान गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्त रुपमा व्यवस्थापन हुने १०० शैयाको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयले २८ रोपनी जग्गादान गरेका हु्न । ट्रमा सेवासहितको १०० शैयाको अस्पतालको लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकोमा २८ रोपनी जग्गा निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिनुभयो ।

“प्रतिष्ठान र नगरपालिकाको संयुक्त पहलमा यही फागुन १० गते सोमबारका दिन जग्गा दाताहरुबाट अस्पतालको नाममा जग्गा पारित भएको छ,” निर्देशक गोसाईंले भन्नुभयो, “प्रतिष्ठानले एकजना मेडिकल अधिकृत पठाएर हाल स्वास्थ्य सेवा पनि दिईरहेको छ ।” जुम्ला प्रतिष्ठानले विशेषज्ञ अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ध्येयले राकम कर्णालीमा यो कार्य थालिएको उहाँले बताउनुभयो ।
निर्देशकका अनुसार राकम कर्णालीमा १०० शैयाको अस्पताल निर्माणार्थ विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालु आव.०७७÷०७८ मा रु.एक करोड ४० बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं.२०७६ फागुन १० गते सम्झौता भएको थियो ।

राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकोले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका जनताले लिने सो नगरपालिकाका स्थानीय अगुवा गगन कार्कीले जानकारी दिनुभयो । कार्कीले अस्पतालका लागि अब १३ रोपनी एक जना व्यक्तिले निःशुल्क दिने कागज गरिसकेको तर उक्त जग्गा नापी जाँदा छुट भई सम्बन्धित व्यक्तिको नाम नआएकोले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास गरिने बताउनुभयो ।

उहाँका अनुसार पदम बडुवाल, पहराम, मदन, मन परे कार्कीलगायतका व्यक्तिले जग्गदान गरेर यस क्षेत्रका नागरिकहरुको लागि ठूलो योगदान दिएका छन् । यता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले अब सानो रोग लागेर सुर्खेत नपालगञ्ज जाने बाध्यताबाट यहाँका नागरिकहरुले मुक्ति पाउने बताउनुभयो ।

केही वर्षभित्रै राकमबाटै नागरिकहरुले गुणस्तर स्वास्थ्य उपचार सेवा लिने पाउने उहाँको भनाई थियो । अस्पताल निर्माण हुँदै गरेको आठबिस नगरपालिकाको उच्चतम संभावना बोकेको स्थान राकम कर्णालीलाई पछिल्लो समयमा नयाँ शहरका रुपमा विकास गर्न लागिएको छ ।

 

प्रतिकृया दिनुहोस्