OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७७सुर्खेत
३३७ पटक

११ फागुन २०७७, मंगलबार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको खुला चौरमा बसेर दैलेखका वादी समुदायले प्रदेश सरकारलाई रात्रीकालिन् धर्ना दिएका छन् ।

प्रदेश सरकारसँग आवास र जमीनको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । आईतबार दैलेखबाट पैदल हिडेर सोमबार बेलुकी सुर्खेत पुगेका उनीहरु राति मुख्यमन्त्री कार्यालय अगाडिको खुल्ला चौरमा धर्नामा बसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“झण्डै ८०–९० को संख्यामा रहेका उनीहरु खुलाचौरमा बसेकोले प्रहरीले सुरक्षा दिएको छ,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “उनीहरुले आफूलाई गास, बास, कपासको माग पुरा गरोस् भनेर प्रदेश सरकासँग आएको बताएका छन् ।” दुल्लु नगरपालिका–१ दैलेखका लाले वादीले भारी बोक्दै, माछा मार्दै चलाईएको जीविका गाह्रो हुँदै गएको र जमीन पनि नभएकोले त्यसका व्यवस्थाका लागि सरकारसँग माग गर्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई नदी किनारामा बालुवा निकाल्न बन्देज लगाइयो । जीवन चलाउन कठिन भयो । कोरोना महामारीले झन् ठूलो संकट बनाउँदा अन्ततः ज्यान नै बेच्नुपर्ने बाध्यता आई लागेका कारण हामीलाई गासबास मिलाई देओस् भनेर प्रदेश सरकारको शरणमा आएका छौं ।” आफुहरुले राखेका माग पुरा नभएसम्म जिल्ला नफर्कने वादीले बताउनुभयो ।

वादी समुदायले प्रदेश सरकारसँग सुरक्षित आवास र खेतीपाती गर्ने स्थायी जमीन सरकारले व्यवस्था गर्दिओस् भन्ने माग राखेका छन् । बालबालिका, वृद्धवृद्धाका साथमा मुख्यमनत्री कार्यालय अगाडि खुलाचौरमा रहेका उनीहरुलाई सोमबार साँझ तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले खानपिन व्यवस्था गर्नुभएको थियो । यद्यपि प्रदेश सरकारका प्रतिनिधिले कभर्ड हलमा बस्न बन्दोबस्त गर्न खोज्दा उनीहरुले नमानेको बताईएको छ ।

 

 

प्रतिकृया दिनुहोस्