OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०७७काठमाडौं
३६९ पटक

एजेन्सी

बेइजिङ । लामो समय एक अर्काबीच व्यापारिक युद्धमा होमिएका अमेरिका र चीनबीच अहिले पनि राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । यसबीच मै चीनले अमेरिकालाई व्यापारमा उछिनेको तथ्य प्रकाशमा आएको छ । सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ ।

कोरोना महामारीका कारण युरोपका मुख्य साझेदार मुलुकबीच व्यापार घट्यो तर चीनले भने यो ‘ट्रेन्ड’ रोक्न सफलता पायो । गत वर्ष चीन र युरोपेली संघबीच ७०९ अर्ब डलरको व्यापार रह्यो । जबकि अमेरिका र युरोपेली संघबीच ६७१ अर्ब डलरको व्यापार रह्यो ।

गत वर्ष पहिलो त्रैमासिकमा कोरोना कहरका कारण चीनको अर्थतन्त्र खराब रह्यो । तर वर्षको अन्तिमतिर आइपुग्दा चीनको आर्थिक स्थितिमा निकै सुधार आएर युरोपेली संघका सामानहरुको माग बढेको थियो । सन् २०२० मा चीनमात्र प्रमुख वैश्विक अर्थव्यवस्थामा एक यस्तो देश थियो जहाँ आर्थिक विकास देखिएको थियो । त्यसैले पनि चीनमा युरोपेली कार र लक्जरी सामानको माग बढेको थियो ।

यसबीच मेडिकल उपकरण र इलेक्ट्रोनिक्स सामानको ठुलो मागका कारण युरोपेली बजारमा चिनियाँ सामानको निर्यात बढ्यो । ‘युरोस्टेट’ का अनुसार सन् २०२० मा चीन युरोपेली संघको प्रमुख पार्टनर थियो । आयातमा ५.६ प्रतिशत र निर्यातमा २.२ प्रतिशत वृद्धिका कारण यस्तो नतिजा आएको थियो ।

युरोपेली संघको तथ्यांक जनवरीमा चीनले जारी गरेको आधिकारिक तथ्यांकसँग मिल्दोजुल्दो छ । चीनका अनुसार सन् २०२० मा युरोपेली संघको व्यापारमा ५.३ प्रतिशत वृद्धि भएको थियो । युरोस्टेटले सोमबार जारी गरेको तथ्यांकअनुसार चीनसँग युरोपेली संघको व्यापार घाटा पनि १९९ अर्ब डलरबाट बढेर २१९ अर्ब डलर भएको छ ।

तर अमेरिका र ब्रिटेन पनि युरोपेली संघमा निर्यातको ठुला बजारका रुपमा छन् । तर पछिल्लो तथ्यांकअनुसार यी दुवै देशसँग युरोपेली संघको व्यापारमा निकै कमी आएको छ । व्यापारमा प्रतिशोधको कारवाहीका शृङ्खला अन्तर्गत युरोपेली संघ र अमेरिकाबीच व्यापार घाटा बढेको हो । युरोस्टेटका अनुसार अमेरिकासँग युरोपेली संघको आयातमा १३.२ प्रतिशत र निर्यातमा ८.२ प्रतिशत कमी आएको छ ।

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले युरोपसँगको व्यापारलाई लिएर अमेरिकी नीतिमा पुनर्मूल्यांकन गर्ने हुन् या होइनन् भन्ने प्रस्ट भइसकेको छैन । तर युरोपेली संघ र चीन भने आपसमा आर्थिक सम्बन्धलाई अझ गाढा बनाउन प्रयासरत छन् । दुवै पक्ष लगानीका लागि एक सम्झौता गर्ने प्रयासमा छन् जसले चीनको बजारमा युरोपेली कम्पनीको पहुँच सहज हुनेछ । सन् २०२० मा खराब आर्थिक अवस्थाका बाबजुद यो वर्ष अन्तर्राष्ट्रिय व्यापारमा राम्रो स्थिति हुने जानकारहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्