OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ३, २०७७सुर्खेत
४१९ पटक

 

 ३ फागुन २०७७, सोमबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले तीनै तहको सहकार्य, समन्वय र सहअस्तित्व नै विकास र समृद्धिको आधारशीलता भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले संघीय व्यवस्थामा तीन तहका सरकारहरु बीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक भएको बताउनुभयो । यसो हुन सकेमात्र मुलुकमा अपेक्षाकृत विकास हुन सक्ने उहाँको जिकिर थियो ।

त्यसैगरी प्रदेश प्रमुख कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको जनाउनुभएको छ । कोरोना महामारीमा यहाँका नागरिकहरुको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक कार्यक्रम भएको उहाँको भनाई थियो ।

“कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच बमोजिम दूरगामी महत्व राख्ने कार्यक्रम अघि सारेको छ,” उहाँले भन्नुभयो, “मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको,’ कर्णालीका नागरिकहरुको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई विशेष जोड दिएको छ ।”

उहाँका अनुसार प्रदेश सरकारले सीमान्तकृत राउटेलाई समाज विकासको मूलधारमा ल्याउनसमेत जोड दिएको छ भने पर्वतीय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी तालिमक केन्द्रको संरचना निर्माण कार्यलाई पनि अघि बढाएको छ ।

प्रदेश प्रमुख कलौनीले व्यवसायिक र आधुनिक कृषि प्रणाली जोड दिनुका साथै मौलिक तथा अर्गानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाउनुभयो । उहाँले प्रदेशभरिको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, जडिबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेश भन्दा निकै कमजोर भएकोले जनताले अपेक्षा गरे अनुसारको काम नदेखिएको बताउनुभयो । “नाबालक जस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ,” उहाँले भन्नुभयो, “शून्य संरचनाबाट काम शुरु गरेपनि यद्यपि विकासका लागि आधार तयार गरिएको छ ।”

गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतिपूर्ण भएपनि जलविद्युत उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उहाँले जनाउनुभयो । उहाँले अगाडि भन्नुभयो, “कठिन भूगोल र आर्थिक स्रोत न्यून हुँदापनि चुनौतिको सामना गरेर अघि बढेका छौं । नीजि लगानीकर्ता भित्र्याउने पहल भईरहेको छ र कर्णालीमा लगानी सम्मेलनका आवश्यक वातावरण तयार गर्दैछौं ।”

प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आईसकेकोले आफ्नो अभिभारा पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख शाहीले भन्नुभयो, “सरकारले संघीय व्यवस्था ल्याउने जनताको हितमा काम गरेर आगामी दिनमा प्रभावकारी योगदान दिन सकोस् र तीनै तहका सरकारहरुको समन्वय एवं सहकारितामा विकास गतिविधि अघि बढुन् भन्ने शुभेच्छा प्रकट गर्दछु ।”

लोकतन्त्रको सुन्दरपक्ष जवाफदेहिता र पारदर्शिता भएको प्रष्ट्याउँदै सभामुख शाहीले संघीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मक लिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारका तालुक निकायमा रहेका कार्यकारीहरुले दूरगामी सोच एवं लक्ष्य राखेर काम गर्नसमेत सुझाव दिनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली आज पनि गरिबीको दुश्चक्रबाट माथि उठ्न नसकेको जिकिर गर्नुभयो । “हामीले हाम्रो सोच र सपनालाई संस्थागत गर्ने संघीय संरचनाको अपेक्षा गरेका थियौं,” मन्त्री भण्डारीले भन्नुभयो, “यद्यपि संविधान प्रदत्त अधिकारको प्रयोग गर्ने सवालमा प्रदेश सरकारले अन्यौलता व्यहोर्दै आएको छ, यो बिडम्बना हो ।”

समारोहमा प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान दिने शहीद परिवार, कोरोना महामारीमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा फुटबल तथा ब्याटमिन्टन खेलमा पहिलो, दोस्रो आउने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

उक्त समारोहमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित देउडा खेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कलाकारहरुले नृत्य तथा मार्सल आर्ट्सका खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए । दिवस समारोह कार्यक्रमको सहजीकरण आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता तुलबहादुर खड्काले गर्नुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्