OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३०, २०७७सुर्खेत
३८८ पटक

 ३० माघ २०७७, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस प्रदेशका आम नागरिकहरुको स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकुद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकुद आवश्यक भएको बताउनुभयो ।

“खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौं,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको छ ।”

यसका लागि प्रत्येक जिल्लामा खेलाडी उत्पादन गर्न तालिम केन्द्र स्थापना गर्ने सोच रहेको उहाँले बताउनुभयो । फागुन १ गते जनयुद्ध दिवस तथा ३ गते प्रदेश सरकारको स्थापना दिवस मनाउन, खेल क्षेत्रलाई चलायमान बनाई यहाँका नागरिकहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न र दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने सन्देश दिन प्रदेश सरकार–११ र एन्फा–११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको मुख्यमन्त्री शाहीको भनाई थियो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले खेल क्षेत्रमा महिलाको सहभागिता कम भएको बताउनुभयो । यस क्षेत्रमा महिला जनशक्ति बढाउनतर्फ प्राथमिकता दिईने मन्त्री केसीको भनाई थियो ।

सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा प्रदेश सरकार–११ विरुद्ध एन्फा–११ ले ३–१ गोल हानेर विजयी भएको थियो । एन्फाका उपाध्यक्षसमेत रहनुभएका एन्फा–११ का कप्तान उपेन्द्रमान सिंहले कर्णाली प्रदेशका १० वटा जिल्लामा फुटबल खेल सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको र त्यसको प्रस्तावना प्रदेश सरकारलाई बुझाईएको बताउनुभयो ।

नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ कारण गत वर्ष चैत्र ११ पछि ठप्प रहेको खेल क्षेत्रका गतिविधिहरु सञ्चालनले खेलप्रेमीहरुमा हौसला ल्याएको जिल्ला फुटबल महासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्