OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २८, २०७७सुर्खेत
३१४ पटक

 

२८ माघ २०७७, बुधबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार मुलुकको प्रगतिको बाधकभएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा आज सुर्खेतमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले राज्यले लिएको शून्य सहनशीलताको नीति अवलम्बन गरेपनि मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार निर्मूलीकरण चिुनौति बन्दै गएको बताउनुभयो ।

“मुलुकमा संवैधानिक अंग मध्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पतिको संरक्षणमा ठूलो योगदान पुर्याएको छ,” उहाँले भन्नुभयो, “भ्रष्टाचार निवारण गर्न सबै तह तप्काको रचनात्मक सुझाव तथा सहयोग आवश्यक छ ।” राज्यको सेवा सुविधामा जनताको सहज पहुँच हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख कलौनीले आयोगले आफ्नो भूमिकालाई रचनात्मक र प्रविधिमैत्री बनाउन सुझाउनुभयो ।

वार्षिकोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गलत मानव सोच, चेतना र दृष्टिकोणले भ्रष्टाचार बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार विरुद्ध अध्ययन अनुसन्धान तथा नियन्त्रणका विषयमा चर्चा गर्न आवश्यक छ । भ्रष्टाचारका कारणहरुलाई खोतल्न जरुरी छ ।”

व्यक्तिको वार्षिक आम्दानी र खर्चको हिसाब गरे उसको आम्दानीको स्रोत र अवैधानिक कार्य सजिलै भेटिने भन्दै मुख्यमन्त्री शाहीले अकुत सम्पतिले निर्माण गरिने संरचना भन्दा नैतिकता र व्यक्तित्वलाई बचाउन सबैलाई आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले एउटा परिवारको मनोविज्ञानबाट त्यही परिवार, संमाज, संस्था र राज्यका निकायमा भ्रष्टाचारको प्रभाव बढ्दै गएको विचार व्यक्त गर्नुभयो । नैतिकता गुमाएर पैसाको पछि लाग्ने संस्कृति अन्त्यका लागि सबैको साझा प्रयास अपरिहार्य रहेको सभामुख शाहीको भनाई थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समाजमा व्यक्तिको सामाजिक उचाई नाप्ने मानक पैसा नै ठान्ने संस्कारले जो सुकैले कुकर्मबाट अकूत सम्पति आर्जन गर्ने होड चलेको बताउनुभयो । “समाजमा व्यक्तिले गलत तरिकाले आर्जन गरेको सम्पति उसको प्रतिष्ठाको मानक भईदिन्छ,” मन्त्री भण्डारीले भन्नुभयो, “पछिल्लो समयमा त्यही गलत संसकार मानव समाजमा संस्कृतिका रुपमा गाँजिएको छ ।”

अख्तियारको ३०औं स्थापना दिवसमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले अख्तियारले साना कुरामा नभई ठूला अनियमितता र भ्रष्टाचारका घटनामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । दिवसमा आरङ्ग नेपाल सुर्खेतका कलाकारहरुले भ्रष्टाचार निवारणसम्बन्धि व्यंग्यात्मक लघु नाटक प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्