OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०७७सुर्खेत
३८८ पटक

 

२७ माघ २०७७, मंगलबार

कर्णाली प्रदेशको राजधानी भनेर चिनिने सुर्खेत जिल्लाले चालु आव.०७७÷०७८ को छ महिनामा तरकारी तथा फलफुलमा रु.एक अर्ब ३६ करोडको कारोवार गरेको छ ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशबाट हालै संकलन गरिएको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु.एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोबार भएको पाईएको छ। विशेषगरी वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैंची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्ये च्याउ, लिचि, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार, अदुवा र लसुनमा भएको कारोवारलाई पहिलो पटक तथ्याङ्कमा निकालिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

“हामीले सुर्खेत जिल्लामा पहिलो पटक लिएको फलफुल र तरकारी बालीवस्तुको आर्थिक कारोबारको तथ्याङ्क हो ।” निर्देशक रोकायले भन्नुभयो, “उत्पादित बालीवस्तुबाट यतिबेला आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।” उहाँले अगाडि भन्नुभयो, “सुर्खेत राजधानी भएर कर्णालीका विभिन्न जिल्लाबाट आएको तरकारी तथा फलफुलले गर्दा हुनसक्छ, यो कारोवारको आँकडालाई हेर्दा यहाँबाट निर्यात कारोबार तेब्बरले भएको देखिन्छ ।”

उहाँका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्वीन्टल कारोबारमा रु.२३ करोड १४ लाख २३ हजार ४०० भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्वीन्टलमा रु.८० करोड ५३ लाख ६९ हजार २०० कारोबार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएकोले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाई छ ।

निर्देशनालयका अर्थ विज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्ये च्याउ दुई हजार ७२५ क्वीन्टलबाट रु.छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्वीन्टलबाट रु.छ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्वीन्टलबाट रु.पाँच करोड ९१ लाख ६१ हजार ६०० आन्तरिक कारोबार भएको बताउनुभयो ।

“कारोबार भएका तरकारी तथा फलफुल बालीमा आयात भन्दा कर्णालीले उत्पादन गरेका फलफुल र तरकारी बालीवस्तु नै छन्,” अर्थविज्ञ थापाले भन्नुभयो, “उत्पादित बालीवस्तुबाट भएको कारोबारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको अन्तिम निचोड निकालिने छ ।” पहिलो पटक लिएका तथ्याङ्कको प्रमाणीकरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, सुर्खेतबाट निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्वीन्टलबाट रु.५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्वीन्टलबाट रु.१२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्वीन्टलबाट रु.पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्वीन्टलबाट रु.तीन करोड ८० लाख ६४ हजार बाह्य कारोवार भएको अर्थविज्ञ थापाले बताउनुभयो ।

कृषि विकास निर्देशनालयले चालु आव.०७७÷०७८ को साउनदेखि यो पुस महिनाको मसान्तसम्म सुर्खेत जिल्लामा आन्तरिक र बाह्य गरी कुल दुई लाख ७९ हजार १४२ क्वीन्टल बिक्रीवितरण गर्दा कुल जम्मा रु.एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोवार भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्