OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

अपेक्षित हिउँ नपर्दा कर्णालीका स्याउ किसान चिन्तित

चिकित्सकले खान सिफारिस गरेको जुम्लाको अर्गानिक स्याउ

कोरपाटी संवाददातामाघ २६, २०७७सुर्खेत
४५८ पटक

 २६ माघ २०७७, सोमबार

यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षाकृत हिमपात र वर्षा दुवै हुन सकेन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो जाडो समयमा हिमपात र वर्षा दुवै नहुँदा यहाँका किसानहरु चिन्तित बनेका छन् ।

कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा बर्सेनि पुस र माघ महिनामा भारी हिमपात हुने गरेपनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुन सकेन र जाडो समेत घट्न सकेको छैन । जाडो मौसममा भारी हिमपात नभएका कारण हिमाली जिल्लामा लगाईएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।

यतिबेला जुम्लाको न्यूनतम् तापक्रम करिब ४ डिग्री सेल्सियस छ भने हुम्ला नाम्खा गाउँपालिकामा ७–१० डिग्री सेल्सियस रहेको बताईएको छ । चिसो नघटेकोले धाराको पाईप जमेर खानेपानी आउन छोडेको चन्दननाथ नगरपालिका जुम्लाका स्थानीय नन्दबहादुर रोकायले दुखेसो गर्नुभयो ।

बेलैमा हिउँ पर्दा तातो ढल्कने र माघको १५ पछि हरेक जीवको चाल देखिने गरेपनि यो वर्ष आजका दिनसम्म चिसो नघटेको जुम्लाका स्थानीयवासीले जनाएका छन् । चिसोले हिमाली जनजीवन कष्टकर नै छ । यद्यपि यस्तो कठोर चिसोमा पनि विद्यालय खुला भएर पठनपाठन चलिरहेको छ ।

करिब नौ महिनासम्म कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको बालबालिकाको पढाई कभर गर्न शिक्षकहरुलाई यो मिन पचासको जाडोको विदा प्राप्त भएपनि यस वर्ष विद्यार्थीहरुकै हितार्थ विद्यालय खोलिएको तिला गाउँपालिका जुम्ला कुडारीस्थित सरस्वती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले जानकारी दिनुभयो ।

हिउँदे समयमा हिउँ नपर्नुले सेताम्य हिमाल कालापत्थरमा परिणत हुन थालेका छन् भने यस प्रदेशका पहाडी र भित्री मधेशका जिल्लाहरु रुखो बन्दै गएका छन् । कर्णालीको तल्लो क्षेत्रमा पर्ने दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेतमा पानी नपर्दा सुख्खा खडेरी बढेको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

“ठिक समयमा पानी परेन भने किसानले लगाएको बालीबाट अपेक्षित उत्पादन हुन सक्दैन,” उहाँले भन्नुभयो, “यो वर्ष यहाँको पहाडी तथा भित्री मधेशका जिल्लामा अहिलेसम्म पानी परेकै छैन ।” सिञ्चित क्षेत्रबाट उत्पादन हुने बालीको आशा रहेपनि आकाशे भरमा हुने खेतीबाट उत्पादन घट्ने निमित्त निर्देशक रोकायको भनाई छ ।

हुम्ला, डोल्पा, मुगु, जुम्लामा सामान्यतः परेको हिउँले जौ, गहुँ र उवा उत्पादक किसानलाई सामान्य राहत मिलेको छ । पुनः हिमपात र वर्षा नभए किसानहरुले लगानी गरेअनुसारको आम्दानी हुन नसक्ने सरोकारवालाहरु बताउँछन् ।

184927564

भारी हिमपात नभएका कारण कर्णालीका स्याउ किसानहरु भने बढी चिन्तित देखिन्छन् । सामान्य परेको हिउँले स्याउ उत्पादनमा कुनै पनि सहयोग नपुग्ने तिला गाउँपालिका ३ जुम्लाका स्याउ किसान नरबहादुर रावतले गुनासो गर्नुभयो । “अहिले परेको हिउँले जौ, गहुँ बाली उत्पादनमा केही सहयोग पुग्ला,” रावतले भन्नुभयो, “यो हिउँले चार ईन्च जमीन नभिजेपछि स्याउ बिरुवाका लागि के टेवा पुग्छ र ?”

कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बेसीतिर लगाईएका स्याउलाई सामान्य सहयोग पुगेपनि लेकमा हिउँ पोखरीको बनाएर सिंचाई हुने स्याउ उत्पादनमा प्रभाव पर्ने बताउनुभयो । “मूलतः जुम्ला कर्णाली मात्र होइन, नेपालकै स्याउ उत्पादनको राजधानी मानिन्छ,” कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “यसको घटबढले नेपाली बजार नै प्रभावित हुने गर्दछ ।”

 

उहाँले जुम्लामा तीन हजार ८०० हेक्टर क्षेत्रफलमा ११ लाख ४० हजार स्याउका बिरुवा लगाईएको बताउँदै यस वर्ष स्याउका लागि ५० हेक्टर जमीन थपिने बताउनुभयो । अहिलेको हिउँपानीले स्याउका लागि काफी नहुने भन्दै यसका लागि थप हिमपात आवश्यक भएको उहाँको भनाई थियो ।

कार्यालय प्रमुख देवकोटाका अनुसार चैत वैशाखमा तुषारोबाट असर नपरे स्याउ उत्पादनमा फरक पर्दैन । यद्यपि माथिल्लो कर्णालीका स्याउ कृषकहरुले पुनः हिमपात हुन नसके आफूले आशा गरे अनुसारको स्याउ उत्पादन हुन नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

चिकित्सकले खान सिफारिस गरेको जुम्लाको अर्गानिक स्याउ

कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले जुम्लाको स्याउ सबै भन्दा उच्च गुणस्तरको भएको दावी गर्नुभयो । अत्यन्तै पोटिलो, गुलियो, रसिलो र अर्गानिक स्याउले नेपालीमा बजारमा राम्रो छाप छोडको उहाँले बताउनुभयो ।


उहाँले अगाडि भन्नुभयो, “सबैभन्दा बढी बासना आउने, उच्च गुणस्तर र बिमारीले खाने स्याउ जुम्लाले उत्पादन गरिरहेको छ । अर्कोतिर खान त खाउँ तर जुम्लाकै स्याउ खाउँ भनेर चिकित्सकले पनि यसलाई नै सिफारिस गरेको छन् ।” यस वर्ष पनि ५० हेक्टर जमीन थपेर १५ हजार स्याउका बिरुवा कृषि विकास कार्यालय जुम्लामार्फत लगाउने योजना रहेको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्