OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७७सुर्खेत
१६६९ पटक

१ माघ २०७७, बिहीबार 

 

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले योगाभ्यास र आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै गएको बताउनुभएको छ ।

कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा ‘छैटौं राष्ट्रिय योग दिवस, २०७७’ को अवसरमा आज आयोजित सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले विश्वव्यापी महाव्याधिको रुपमा फैलिएको कोरोना भाइरस सामना गर्न यो समयमा योगाभ्यास र आयुर्वेद उपचार विधि अधिकतम् प्रयोगमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “योग, ध्यान तथा आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अलवम्वन गर्न सकिएमा मानव समाजमा आउने जस्तासुकै महामारीको संक्रमणको सामना गर्न सहयोग पुग्छ । अब यसलाई निरन्तर सबैले अपनाउँदै जानु पर्दछ ।”

उहाँले प्राचीन कालदेखि हिमवत्खण्ड ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकोले नेपाल योगको उद्गमस्थल भएको समेत दावी गर्नुभयो । योगाभ्यास र आयुर्वेद एक भरपर्दो एवं प्राचीन उपचार पद्धति भएकोले हरेक व्यक्तिले नियमित अभ्यास गरे स्वस्थ समाज निर्माण भई मुलुकको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने प्रदेश प्रमुख कलौनीको भनाई थियो ।

उहाँले अगाडि भन्नुभयो, “यहाँ पाइने यार्सागुम्बा, शिलाजित, लेकतितो, पाषणवेद, दालचिनी, चिराइतो, कुमकुम, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, जस्ता यहाँका प्रमुख जडीबुटीहरूको सङ्कलन, प्रशोधन र निर्यात एवं व्यापार गर्न सजिलै सकिन्छ । जसकै योगदानबाट कर्णालीको समग्र आर्थिक उन्नतिमा विशेष योगदान गर्ने भएकाले यसमा सम्पूर्णको ध्यान केन्द्रित गर्न आग्रह गर्दछु ।”

योग दिवस सभा कार्यक्रमको अवसरमा कर्णाली प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा.शंकरप्रसाद रिजालले जुममार्फत योगका ऐतिहासिक, शास्त्रीय, वैज्ञानिक, व्यवहारिकलगायतका बहुआयामिक पक्षहरुका बारेमा जानकारी लिन र जिज्ञासा मेटाउन साताव्यापी कार्यक्रम सञ्चालन हुनेबारे अवगत गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्