OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७७सुर्खेत
३८६ पटक

१ माघ २०७७, बिहीबार

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ र ‘माघी पर्व’को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले हरेक वर्ष थारुहरुले मनाउने माघी पर्व, मगर समुदायले मनाउने माघे सकराती पर्व र अन्य समुदायले मनाउने मकर सङ्क्रान्ति पर्व तथा नेपाल सरकारद्वारा आह्वान गरिएको राष्ट्रिय योग दिवस, २०७७ को सुखद उपलक्ष्यमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा आरोग्यताको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ः “नेपालमा हरेक जातजाति तथा क्षेत्रमा मनाईने चाडपर्वहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् र जसको आफ्नै खालको विशिष्ट महत्व छ । हाम्रा चाडपर्वहरुले हाम्रो भौगागिलक, धार्मिक साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्न योगदान गरेका छन् । तिनको माध्यमबाट राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”

पूर्वीय दर्शनबाट प्रादुर्भाव भएको योग र ध्यानका माध्यमले शरीरलाई विकारमुक्त राखी मानिसलाई स्वस्थ बनाउने कुरा हाम्रो पूर्वजहरुको खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भईसकेको र आधुनिक चिकित्सा पद्धतिले समेत स्वीकार गरी नेपाल सरकारले विसं.२०७२ देखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा घोषणा गरेको जनाउँदै प्रदेश प्रमुख कलौनीले यस वर्ष ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नारासँगै मनाईने योग दिवसले रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास लिएको बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत सिंगो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’, ‘माघी पर्व’ र राष्ट्रिय योग दिवस २०७७ ले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्ष्क्षुण राख्दै सम्पूर्णमा आरोग्य जीवन प्रतिको कामना गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्