OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७७ सुर्खेत
६४७ पटक

 २७ पुस २०७७, सोमबार

नेकपा प्रचण्ड–माधव समुहका नेता तथा कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा (प्रभाकर)ले पार्टी भन्दा राष्ट्र रक्षाका विषयमा बढी चिन्ता बढेको बताउनुभएको छ ।

प्रेस संगठन नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका नेकपा नेता शर्माले राष्ट्र नै नरहे पार्टीको औचित्य समाप्त भएर जाने बताउनुभयो । नेकपामा देखिएको विवाद र फुटले सिंगो मुलुक नै समस्या व्यहोर्नु परेको बताउनुभएका उहाँले नेपाली जनताको लामो समयको त्याग र बलिदानबाट प्राप्त उपलब्धि, राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षा गर्नु आजको आवश्यकता रहेको औंल्याउनुभयो ।

संविधानमा नभएको अधिकार प्रयोग गरी बहुलठपूर्ण तरिकाले भस्मासुरको धारा प्रयोग गरेर प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त पार्ने काम गरेको आरोप लगाउँदै नेता शर्माले मुलुक गम्भीर मोडमा आईपुगेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “प्रधानमन्त्रीले असंवैधानिक कदम चालेपछि हामी राष्ट्र, राष्ट्रियता, संविधान र जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न जनतामाझ आएका छौं । यसमा बृहत संयुक्त मोर्चाको आवश्यक छ ।”

प्रधानमन्त्री ओली संविधान भन्दा माथि जान खोजेपनि उहाँ रस्सातलमा गइसकेको कटाक्ष गर्दै नेता शर्माले नेकपामा आएको विभाजनले मुलुकलाई समाजवादोन्मुख अर्थतन्त्र र समतामूलक समाज निर्माणतर्फ लैजान बोकेको सुन्दर सपना धरापमा परेको बताउनुभयो । सत्ताको वरिपरि रहेको शक्तिले गरेको खराबीको खबरदारी गदै आएको उहाँले जनाउनुभयो ।

कर्णाली प्रदेशमा २४ प्रतिशत दलितको जनसंख्या हुँदा पनि सरकारमा एक जना मान्छे नहुनु कमजोरी भएको स्वीकार गर्दै उहाँले भावी दिनमा मन्त्रिपरिषद् पुनःगठन गर्दा मिलाएर लैजाने बताउनुभयो । प्रदेश सरकार गठनपश्चात् मन्त्रिमण्डल समावेशी गर्न खोजेपनि केही कुरा नमिलेकोले उहाँको भनाई थियो ।

अब केही समयपछि कर्णाली सरकार पुनर्गठन हुने र त्यसमा दलित वर्गलाई समावेश गरेर लैजाने उहाँले विश्वास दिलाउनुभयो । पार्टी एकता हुने ठाउँ रहेको र खासगरी परिवर्तनको पक्षधरहरुसँग नयाँ ढंगले नयाँ उचाईको एकता गरिने नेता शर्माको भनाई थियो ।

प्रतिकृया दिनुहोस्