OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहपौष १८, २०७७जुम्ला
८५५ पटक

 १८ पुस २०७७, शनिबार

धुलाम्य शरीर, जगल्टिएको कपाल, बिरक्तिएको अनुहार, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । यद्यपि उनी त्यस्तै ५० देखि ५५ वर्ष होलिन् भन्ने अनुमान गर्न सकिन्छ । सायद मानसिक समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पुर्याएको हुन सक्छ । तिनै बेबारिसे पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन ।

चन्दननाथ नगरपालिका ३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ । त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित महिलाको बास छ । जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोज यता भने सिरेठो बढ्दै बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ ।

यतिबेला जुम्लाको न्यूनतम तापक्रम माईनस ८.५ डिग्री सेल्सियस पुगेको छ । यो कठ्याङ्ग्रिने जाडोमा मान्छे खुला सडकमा बसेर बाँच्न सक्छ भन्ने कसैले कल्पना गर्न सक्दैन । यो पत्याउन नसकिने घटनामा पनि पछिल्लो समयमा जुम्लाको कठोर जाडोमा सडक मानवहरुको कहाली लाग्दो दृश्य नियाल्न पाईन्छ ।

त्यही दृश्यमा एक जना महिला शान्तिनगर हुँदै कर्णाली प्राविधिक शिक्षालय जाने बाटो नजिक खुला ओडारमा बसिरहेको देखिन्छिन् । सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आईन् भन्ने विषयमा कोही जानकार छैन । नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग पत्तो नपाएको चन्दननाथ नगरपालिका ३ जुम्लाका वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

“महिला को हुन्, कहाँबाट कसरी यहाँसम्म आईपुगिन् ? त्यो हामी कसैलाई थाहा छ्रैन,” अध्यक्ष बुढ्थापाले भन्नुभयो, “धेरै पटक सोध्दा भने उनले दैलेख खड्काबाडा भने जस्तो गरेपछि उनी दैलेखको हुन सक्छिन् भन्ने हामीले अनुमान गरेका छौं ।” उनको खोजतलासका लागि भनेर कही कतैबाट पनि कोही व्यक्ति नआएको उहाँले जनाउनुभयो ।

उनलाई घरमा ल्याउन खोज्दा नमानेकोले ओडारमै बस्न दिईएको बरु खानाका लागि यहाँको समुदायले सहयोग गर्दै आएको उहाँले जनाउनुभयो । ती महिला जंगल नजिकको खुला ओडारमा बस्दै आएकोले जंगली जनावरले मार्ने पनि त्यतिकै खतरा रहेकोले स्थानीयले बताउँदै आएका छन् ।

जुम्लामा आजभोलि तापक्रम निरन्तर ओरालिँदो क्रममा छ । यो समयमा मान्छेलाई बाहिर निस्कन नै गाह्रो हुन्छ । चिसोले घरभित्र न्यानो गरेर बस्नेहरुको जीवन कष्टकर भईरहँदा माईनस डिग्रीको तापक्रममा खुला ओडारमा बस्ने ती महिलाको कष्टपूर्ण जीवनको बयान नै गर्न नसकिने अवस्था रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताउनुभयो ।

केन्द्रीय सदस्य चौलागाईले मानसिक समस्याबाट ग्रसित ती महिलाको अवस्थाप्रति राज्य बेखबर रहेको उहाँले टिप्पणी गर्नुभयो । यद्यपि यो समयमा जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा तत्कालका लागि राहत प्रदान गरिनु प्रशंसनीय काम भएको उहाँले जनाउनुभयो । सरकारले तत्काल ती बेबारिसे महिलालाई उद्धार गरी पुनःस्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।

बेबारिसे महिला खुला ओढारमा बस्ने खबर पाएपछि तत्काल चिसोको जोखिम हुनबाट बचाउन भन्दै बिहीबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चौलागाई सम्मिलित टोली ती महिला बस्ने ओडारमै पुगेर कम्बल हस्तान्तरण गरेको थियो ।

प्रजिअ थापा नेतृत्वको टोली र नेपाल रेडक्रस, उद्योग बाणिज्य संघ जुम्लासहितले महिलालाई भेटेर कम्बलसहित ज्याकेट, चामल र भाँडाकुँडा सहयोग गरेको छ । “महिलामा मानसिक असन्तुलनको समस्या रहेछ । कसैले घरमा लिन खोजेपनि जान नमान्दो रहेछन्,” उहाँले भन्नुभयो, “तत्काल उनलाई जुम्लामा पुनःस्थापना गर्ने ठाउँ नभएकोले हामीले केही राहतका सामग्री दिएर फर्केका छौं ।”

जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक मानवको अवस्था अनुगमन गर्दा ती महिलासहित १० जना भेटिएको र उनीहरुलाई चिसोबाट बचाउन तत्काल न्यानो कपडा वितरणसहित आवश्यक राहत प्रदान गरिएको प्रजिअ थापाले बताउनुभयो । बिहीबार नै जिल्ला प्रशासनमा बैठक बसेर सडक मानवहरुको तथ्याङ्क संकलन गर्ने र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँको भनाई थियो ।

सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवहरुको तथ्याङ्क संकलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई निर्देशन गरिएको प्रशासन जुम्लाले जनाएको छ । संकलित तथ्याङ्कका आधारमा सडक मानवहरुको उद्धारगरी मानव सेवा आश्रम सुर्खेतमा पुनःस्थापनाका लागि जतिसक्दो चाँडै कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्