OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०७७सुर्खेत
१२७४ पटक

१७ पुस २०७७, शुक्रबार

कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडी बिहीबार जलेर नष्ट भएको छ ।

जाजरकोट सदरमुकामबाट करिब २५ किलोमिटर दूरीमा रहेको भेरी नगरपालिका ७ कुदु नजिकै पुन्म भन्ने ठाउँमा बिहीबार राति १०ः०० बजे अध्यक्ष सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार भेरीनगरपालिका ७ का वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घर नजिकै पार्किङ गरी राखेको अवस्थमा गाडीमा आगलागी भएको थियो ।

“गाडी कुनै व्यक्तिले जलाएको हो या तार सट भएर जलेको हो भन्ने कुराको अनुसन्धान भईरहेको छ,” प्रहरी नायब उपरीक्षक श्रेष्ठले भन्नुभयो, “उक्त समय र स्थानमा भएको घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।”

जाजरकोट ‘क’ नम्बर प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य तथा समितिका अध्यक्ष सिंहले राति १०ः०० बजे गाडीमा आगलागी भएको थाहा हुने बित्तिकै त्यहाँ पुगेर निभाउने प्रयास गर्दा पनि नियन्त्रण लिन नसकिएको जानकारी दिनुभयो । सदरमुकामबाट टाढा भएकोले घटना हुने बित्तिकै प्रहरीलाई खबर गरेपनि डेढ घण्टापछि प्रहरी घटनास्थलमा पुगेको उहाँले बताउनुभयो ।

अध्यक्ष सिंहले अगाडि भन्नुभयो, “बिहीबार कर्णाली प्रदेशसभा सदस्य कृष्णा शाह, नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, जाजरकोट जिल्ला अध्यक्ष ढकबिर राना र सुरक्षाकर्मीसहित भेरी नगरपालिका ७ स्याउली बजारमा प्रदेश सरकार अन्तरगतका सिंचाई तथा तटबन्धका योजना अनुगमन गर्न त्यहा पुगेर वडाध्यक्ष शाहीको घरमा बास बस्यौं । आखिर राति घटना त्यसरी घट्यो ।”

गाडीमा चारैतिर पेट्रोल छर्केर आगो लगाएकोले नियन्त्रणमा लिन नसकिएको भन्दै उहाँले अज्ञात समुहले गाडी क्षति पुर्याएको दावी गर्नुभयो । गाडी क्षतिका विषयमा सभामुख तथा मुख्यमन्त्रीलाई फोन नलागेपनि कर्णाली प्रदेश सचिवालय, अर्थ समितिका उपसचिव पदम जैसीलाई जानकारी गराएको अध्यक्ष सिंहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्