OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

सर्वोच्चको फैसला प्रधानमन्त्रीकै पक्षमा हुन्छ: राज्यमन्त्री रावत

‘सूर्य चिन्ह र पार्टी कब्जाको दिवा सपना त्याग्नुस्’

कोरपाटी संवाददातापौष १३, २०७७ सुर्खेत
५०७ पटक

१३ पुस २०७७, सोमबार

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री एंव नेकपाका केन्द्रीय सदस्य नवराज रावतले सर्वोच्च अदालतको फैसला प्रधानमन्त्रीको कदमको पक्षमा हुने दावी गर्नुभएको छ ।

युवा संघ नेपाल कर्णाली प्रदेशले आज वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको बृहत युवा भेलालाई सम्बोधन गर्दै राज्यमन्त्री रावतले सरकारको पक्षमा फैसला हुने जिकिर गर्नुभयो । प्रधानमन्त्रीलाई अघि बढ्न नदिएपछि प्रतिनिधिसभा भंग गरिएको प्रष्टोक्ति दिँदै उहाँले भन्नुभयो, “प्रचण्ड–नेपाल समूहलाई बैठकमा आउन प्रधानमन्त्री ओलीले आग्रह गर्दा त्यसलाई अस्वीकार गरियो तथापि नेकपा पार्टी विभाजन भएको छैन ।”

राज्यमन्त्री रावतले थप्नुभयो, “हामीले सुन्यौं, उक्त समुहको बैठक उतै बसेर उहाँ (माधव नेपाल) अध्यक्ष हुनुभएछ । प्रधानमन्त्री हुने भए आगामी निर्वाचनमा आउनुहोस् । यदि पार्टीको अध्यक्ष चाहिए महाधिवेशनबाट अघि बढौ ।” सूर्य चिन्ह अरुको नभई आफूहरुको हुने भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरु ढुक्क भएर गाउँ–गाउँमा जान उहाँले आग्रह गर्नुभयो ।

नेकपाका नेता महेश बस्नेतले सूर्य चिन्हमा कसैले पनि दावी नगर्न चेतावनी दिनुभएको छ । प्रचण्ड–नेपाल समूहलाई हाँडी लिएर चुनावमा जान कटाक्ष गर्दै नेता बस्नेतले चुनाव जित्न नसक्नेहरु नै चुनावको विपक्षमा उभिएको टिप्पणी गर्नुभयो । नेकपाको कार्यालय आफुहरुको रहेको भन्दै उहाँले यसमा कसैलाई पनि आँखा नलगाउनसमेत आग्रह गर्नुभयो ।

‘सूर्य चिन्ह र पार्टी कब्जाको दिवा सपना त्याग्नुस्’

प्रचण्ड–नेपाल समूहका नेताहरुले आजै वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री पक्षधर नेता महेश बस्नेतलाई सूर्य चिन्ह र पार्टी कब्जा गर्ने दिवा सपना त्याग्न चेतावनी दिएका छन् ।

पार्टीको विधान र नियमावली अनुसार विधिवतरुपमा नेकपा प्रचण्ड–नेपाल समूह नेतृत्व गरेको नेकपा नै भएकाले सूर्य चिन्हमा नजर लगाउने र पार्टी कब्जा गर्ने अपहरणवादी सोच त्याग्न बस्नेतलाइ केन्द्रीय सदस्य निरज आचार्यले चेतावनी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै आचार्यले भन्नुभयो, “विगतमा संसद अपहरण गरेको जस्तोशैली अब नेकपामा चल्दैन । तपाईं साथी हो तर तपाईको चिन्तन र तरिका देखेर दुःख लागेको छ । उहाँले अहिले नेपालको कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेको बताउनुभयो ।

“पार्टीको विधान र नियमावली हेरेर अघि बढ्ने की महेश जी ! राष्ट्रमाथि घात, संघीय गणतन्त्रमाथि धावा बोल्ने र जनताको भावनामाथि खेलवाड गर्ने व्यक्तिवादी चिन्तन बोकेका ओलीको रक्षा गर्न दिएका अभिव्यक्ति समयमै सच्याउनुहोस,’ चुनौति दिँदै नेता आचार्यले भन्नुभयो,, “त्यस्तो काम हुँदै गएछन् भने आन्दोलनको ज्वारभाटा ल्याएर ओलीले अंगिकार गरेको बाटोलाई पतन गर्ने हैसियत हामीसँग छ ।”

काम गर्न नदिँदा संसद विघटन गरेको भन्दै ओलीसहित उनका पक्षधरले दिएको अभिव्यक्ति भ्रम फैलाउने बाहेक अरु केही नभएको टिप्पणी गर्दै उहाँले सानो गुट बनाएर छोटो समयमै बहुमत ल्याउन निर्वाचनमा जान सांसद विघटन गरेको हुँ भन्नु ओलीको कदम हास्यास्पद भएको जनाउनुभयो ।
ओलीको मनसाय निर्वाचन गर्ने नभएर संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने र संविधान नै असफल बनाउने गलत अस्त्र भएकाले अब त्यसको रक्षा आफूहरुले गर्ने उहाँको दावी थियो ।

‘पिलो आउँदा निचोर्ने हो, खुट्टै काट्ने हैन’

यता, नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेकपाका गतिविधि र अन्तर विरोध पार्टी भित्रै छलफल गर्न नसकेर व्यक्तिवादी सोच हावी हुँदा आज बहुमत प्राप्त दलका साथै नेपाली जनतामाथि ठूलो घात भएको विचार व्यक्त गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका उपप्रमुख रिजालले कटाक्ष गर्दै भन्नुभयो, खुट्टामा पिलो आए निचोर्ने हो, खुट्टा नै काटैर फाल्ने त हैन नि ? ओलीले पार्टी भित्रै छलफल, संवाद र बहस नगरेर व्यक्तिवादी सोच लाद्दा संविधानमै नभएको व्यक्तिवादी अधिकार लागु गर्नाले देश कठिन मोडमा पुगेको उहाँले आरोप लगाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्