OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष ८, २०७७जुम्ला,
८३७ पटक

८ पुस २०७७, बुधबबार

काठमाडौं महानगरपालिका र चन्दननाथ नगरपालिका जुम्लाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै पालिकाले मंगलबार एक आपसमा भगिनी (साइनो) स्थापना गर्दै सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)सहित आठ जनाको नेतृत्व गरेर जुम्ला पुग्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालबीच सोमबार औपचारिकरुपमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी साइनो स्थापना गरिएको हो । महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गर्न उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरिएको बताउनुभयो ।

महानगपालिका प्रमुख शाक्यले भन्नुभयो, “काठमाडौँमा धेरै संस्कृति, सम्पदा छन् । मानव निर्मित सम्पदाले धनी काठमाडौँ साँस्कृतिक शहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनाथबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा ऐतिहासिक काम हो ।” प्रकृति र पर्यावरणको समुचित सन्तुलनविना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्यका साथ अघि बढ्न हाम्रो भगिनी सम्बन्ध जोडिएको उहाँको भनाई थियो ।

उहाँका अनुसार यसअघि काठमाडौँ महानगरपालिकाद्वारा विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिएको छ भने संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाईएको हो । भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका अर्गानिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा पनि सहकार्य गर्ने अपेक्षा महानगरले राखेको छ ।

‘रारा, सिञ्जा, सेफोक्सुण्डो जाने बाटोमै रहेको चन्दननाथको धार्मिक पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिनेमा दुईमत नरहेको महानगरपालिका प्रमुख शाक्यको दावी थियो । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाले दुवै पालिकाको विकासमा सहयोग पुग्ने जनाउनुभयो ।

नगरप्रमुख सेजुवालले भन्नुभयो, “भगिनी साईनोले सकारात्मक भूमिका खेल्ने र यहाँको विकास निर्माणमा पनि टेवा पुग्ने छ । जसले दुवै सरकारको स्थानीय सुशासन, प्रकृति तथा पर्यावरणको संरक्षण, स्थानीय उत्पादन तथा बजारीकरण व्यवस्थापन, मानवीय नगर निर्माणको अभियानमा सहकार्य गर्न सहयोग पुग्नेछ ।”

भगिनी सम्बन्ध स्थापनासँगै कामठमाडौँ महानगरपालिकाले रु.एक करोड ५० लाख सहयोग गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भईसकेको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले जानकारी दिनुभयो । उक्त बजेटले यहाँको पर्यटकीय पार्क निर्माण गर्ने योजना बनाएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्