OnlinePana

आज : २०७८ साउन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ३, २०७७काठमाडौं
२०६ पटक

शुक्रबार२०७७ पुष ३ गते

३ पुस, जाजरकोट । चिसो मौसममा डोल्पामा प्रायः प्रकृतिले नै नाकाबन्दी गर्ने गर्दछ । यस मौसममा यहाँका नागरिकले सोचेको र आँटेको काम गर्नु त परै जाओस्, गाउँघरमै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि गाह्रो छ । उपल्लो डोल्पाका सर्वसाधारणलाई त झनै गाह्रो । आवश्यक खाद्यान्न, लत्ताकपडादेखि अधिकांश दैनिक अत्यावश्यकीय सामग्रीहरु पनि आयातीतमै भर पर्नुपर्ने विडम्बना डोल्पाको छ । यहाँका नागरिक यतिबेला घरभित्रै थुनिएर बस्नेबाहेकको अर्के विकल्प छैन । घरबाहिर हिउँ परेको छ, आगो र न्यानो कपडाको भरमा भरभित्रै बस्नुपर्दछ ।

गर्मी याममा समेत ज्यान तताउन मुस्किल पर्ने यहाँका बासिन्दालाई चिसो मौसममा कष्ट हुनु त सामान्य नै हो । यसैले यतिखेर उनीहरुलाई घरबाहिर निस्किनै मुस्किल पर्ने गर्दछ । हुनत डोल्पालीको यो दैनिकी अकस्मातको होइन, यो याममा वर्षेनी आउँछ । तर पनि उनीहरुको यो मौसम भने एक किसिमले भन्दा प्रकृतिले नै नाकाबन्दी लगाएजस्तो अवस्थाको हुन्छ । दैनिक बाक्लो कपडा लगाएर यो हिमपातको मौसमभरि नै घरभित्रै थन्किनुपर्ने अवस्थामा छन् डोल्पाली ।

बिरामी हुँदा गाउँमा स्वास्थ्य संस्था नहुँदा सदरमुकाम दुनै आउने बाटो नै अवरुद्ध हुने गर्दछ । यसरी बिरामी हुँदा नै बाटो नपाएपछि यहाँका नागरिक यो याममा हरेक वर्ष प्रकृतिको नाकाबन्दीमै रहने गर्दछन् । उपल्लो डोल्पाका सर्वसाधारणहरु कति मर्कामा परेका होलान् भन्ने कुराको कुनै लेखाजोखा पनि छैन ।

स्थानीय सरकारका प्रमुखहरु विकास गर्नसमेत प्रकृतिले नदिएको भन्दै पीडा पोख्छन् । तिब्बतसँग सिमाना जोडिएको उपल्लो डोल्पा कठिन भू-बनोट भएको क्षेत्र पर्दछ । अग्ला हिमाल, त्यसमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि दिनभर हिँड्नुपर्ने बाध्यता यहाँका नागरिकको दैनिकीजस्तै हो । गाउँमा बिरामी हुँदा आम्ची बोलाएर उपचार गर्नुपर्ने भगवान्को भरोसामा यहाँका मानिसहरु जीवनयापन गरिरहेका छन् ।

सदरमुकाम दुनै पुग्नका लागि तीन दिनदेखि सात दिनसम्म नै हिँड्नुपर्ने बाध्याले पाँच महिनासम्म यहाँका बालबालिकाले सबै खालका खोपहरुसमेत नपाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

फापर, उवालगायतका बालीहरु यहाँ उत्पादन हुने गर्दछ । घरमा पालिएका पशु चौपायबाट उपल्लो डोल्पामा खाद्यान्नलगायत वस्तुहरु ढुवानी हुने गर्दछ । आफैँले उत्पादन गरेको अन्नले १२ महिना नपुग्ने हुँदा यहाँ आयातीत अन्नबाट उपल्लो डोल्पावासीको पेट भरिने गरेको शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

हिमालहरु हेर्दा उपल्लो डोल्पा जति सुन्दर छ त्यति सुन्दर दैनिकी छैन । हिमालजस्तो हाँसिरहेको जीवन डोल्पामा पाउन मुस्किल छ । यहाँका नागरिक भने सधैँ जीविकोपार्जनकै दुःखमा छन् । विकासका नाममा डोल्पाको सदरमुकामबाट केही घण्टा हिँडेपछि भेटिने जुफाल विमानस्थल र पटकपटक समस्या आइरहने जैरीगाड जलविद्युत् आयोजना हुन् ।

अर्को डोल्पाको मुख्य पहिचान भनेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र शे-फोक्सुण्डो ताल हो । तिब्बतबाट अहिले उपल्लो डोल्पामा सडक खन्ने काम शुरु गरी केही भागमा पुर्‍याएको छ । खुल्ला सिमाना नभएका कारण सडक पुगे पनि तिब्बतबाट पाउने सेवासुविधा उपल्लो डोल्पावासीको सहजै पहुँच पुग्ने देखिँदैन । भदौ महिनामा १५ दिनसम्म मात्र हाटबजारका लागि भनेर चीन र नेपालको दुवै सिमाना खुल्ला गरिन्छ । त्यो पनि वर्षमा एकपटक मात्र खुल्ला हुने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

प्राचीनकालमा निर्माण भएका ऐतिहासिक गुम्बाहरु उपल्लो डोल्पामा छन् । यहाँ भएका वस्तुहरु संरक्षण गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी हुनुपर्ने सर्वसाधारणहरुको माग छ । उपल्लो डोल्पामा रहेका सबै प्रहरी चौकी चिसोका कारण दुनैमा सारिएको छ । अधिकांश जनप्रतिनिधिहरुसमेत सुविधासम्पन्न ठाउँमा पुगेका छन् । शे-फोक्सुण्डो निकुञ्जमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरु निकुञ्जको सुरक्षार्थ चिसोमै खटिएका छन् ।

शे-फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज डोल्पा र मुगुमा फैलिएको छ । हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छन् । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।

निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रको विकासमा खर्चिने कानूनी व्यवस्था छ । निकुञ्जभित्रको कोर एरियामा २४ वटा गाउँ छन् । उपल्लो डोल्पाका शे-फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका केही भाग निकुञ्जको कोर एरियामा पर्छ । निकुञ्जका ५७ जना कर्मचारी निकुञ्जको सुरक्षाका लागि खटिएका छन् । अझै दरबन्दीअनुसार १० जना कर्मचारी रिक्त छ । निकुञ्जको सुरक्षार्थ तैनाथ ईश्वरी बक्स गुल्मका सुरक्षा पोस्ट पनि डोल्पामा मात्र रहेका छन् । निकुञ्जको भाग फोक्सण्डो तालभन्दा पाँच दिन पैदल लाग्ने तिब्बतको सीमासम्मै फैलिए पनि निकुञ्जका कर्मचारी र सेनाको उपस्थिति प्रभावकारी बनाउन लागिएको छ ।

दशवर्षे सशस्त्र द्वन्द्वसम्म निकुञ्जको मुख्यालय फोक्सुण्डो तालभन्दा एक घण्टा तलको पलममा थियो । द्वन्द्वकालमा आक्रमणपछि निकुञ्जको मुख्यालय सदरमुकाम नजीकको सुलिगाडमा झरेको छ । पलम सुलिगाडबाट पैदल दुई दिनमा पुगिन्छ । सदरमुकाम दुनै सुलिगाडबाट आधा घण्टाको दूरीमा छ । अहिले निकुञ्जले पशु बीमादेखि वन्यजन्तुबाट हुने हानिको क्षतिपूर्ति दिनका लागि गाउँगाउँमा सचेतना फैलाएर स्थानीय र निकुञ्जको सम्बन्धका साथै अपनत्वसमेत बढाएको छ ।

निकुञ्ज क्षेत्रका विद्यार्थीहरुमध्ये दुईजनालाई छात्रवृत्ति दिइरहेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो । कामहरु गर्दा फोन सेवा प्रभावकारी नहुँदा दैनिक समस्या भोगिरहेको डोल्पाका नागरिकहरु बताउँछन् । नामका मात्र टावर राखेर काम छैन, सेवा पनि दिनुपर्‍यो शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए ।

गाउँमा मात्र होइन सदरमुकाम दुनैमा समेत टेलिफोन सेवाप्रति कोही पनि नागरिक खुशी नभएको सुरक्षा अधिकारीहरु बताउँछन् । हामीले डोल्पाका प्रजिअ सुरेश सुनारसँग फोनमा सम्पर्क गर्न खोज्दा कुरा गर्दागर्दै चारपटक फोन राम्रोसँग सुन्न नसक्दा काटिएको थियो । स्थानीय विद्युत् सेवा त झन् कति बेला के हुन्छ थाहा नै नहुने गरेको डोल्पाका पत्रकारहरुको गुनासो छ ।

आफ्नो रैथाने घरजग्गा जमीन सबै थोक छाडेर चिसो छल्न उपल्लो डोल्पाका हुनेखाने मानिसहरु शहर बजारतिर झर्ने गर्दछन् । आर्थिकरुपमा समस्यामा परेका स्थानीयवासी आफ्नै घरमा बसेर चिसोसँग मुकाबिला गरिरहेका छन् ।

कु, साल्दाङ, कराङ, कोमा, छल्न मुसी, निजाल, फोत, नाम्दो, भिजेरलगायत दर्जन गाउँमा केही सर्वसाधारण चिसो छल्ने भनी तल झरेका छन् । तातो फर्केपछि फागुनमा मात्र उपल्लो डोल्पामा फर्कने गरेको बेँशी झर्दै गरेका सर्वसाधारणहरु बताउँछन् ।

जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र नेपालगञ्ज र काठमाडौँ अधिकांश ठाउँमा उपल्लो डोल्पाका सर्वसधारणको बसाइ हुने गर्दछ । हुनेखानेका घरहरु सुविधासम्पन्न ठाउँमा निर्माण गरिएका कारण उनीहरु चिसो छल्न तल झर्ने गर्दछन् । केही आफ्नो घर नभएका कारणहरु औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायत बाली थन्क्याएर बेँसी आई अर्काको घरमा बस्छन् । केहीको जम्वु बिक्री गर्ने कामसमेत जोडेर तल झरेका छन् । यार्सागुम्बा उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो। पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन् ।

उपल्लो डोल्पामा रहेका तीनवटा गाउँपालिका शे-फोक्सुण्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध हुन् । तीनवटै गाउँपालिका तिब्बतसँग जोडिएका छन्। सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो भने सामान बोक्ने खच्चड । तिनै खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिँदै आएको छ ।

साल्दाङ शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुण्डो ताल र करीब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा पनि यहीँ रहेको छ । साल्दाङमा रहेको कक्षा ८ सम्म पढाइ हुने विद्यालय चिसोले बन्द भइसकेको छ । फोक्सुण्डो तालको छेउमा पुरानो बस्ती छ जहाँ तिब्बती शैलीका लगभग चार दर्जन घर रहेका छन् ।

शे-फोक्सुण्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिमला नाका जोडिएको छ । धो, तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त नाका हुँदै बजारमा किनमेल गर्ने गर्दछन् ।

हेमन्त न्याैपाने रासस

प्रतिकृया दिनुहोस्