OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०७७सुर्खेत
१०९५ पटक

 

 १३ मंसिर २०७७, शनिबार

कणाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासंग्रही–सल्यान खलंगा जोड सडकको शिलन्यास गर्नुभएको छ ।

योजनामन्त्री ज्वालाले आज रु.२७ करोड ३५ लाख लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासंग्रही–कुपिण्डेताल–जयतपानी–खलंगा जोड्ने सडक शिलन्यास गर्नुभएको हो । शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलंगा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताउनुभयो ।

“पञ्चायकालीन सरकारले शिलन्यास गरेपनि यो सडक हालसम्म जहाँको त्यही रह्यो,” उहाँले भन्नुभयो, “ यद्यपि अहिले ट्रयाक खोलेर स्तरवृद्धिका साथै कालोपत्रे गर्दैछौं । तसर्थ यो लोकतन्त्र, गणतन्त्र र संघीयताको उपहार हो ।” यसले यहाँका नागरिकहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुको साथै जीवनस्तर माथि उकास्न ठूलो सहयोग पुग्ने उहाँले दावी गर्नुभयो ।

कर्णाली प्रदेश सरकारले यो तीन वर्षमा रु.४० करोड बजेट लगानी गरेको यो सडक संघीय सरकारको रािष्ट्रय राजमार्गमा पर्छ भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले मोटो रकम छुट्याउँदा संघीय सरकारले रु.चार करोड मात्र छुट्याएको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले बालुवासंग्रही–कुपिण्डेताल–जयतपानी–खलंगा र सल्ली बजार हुँदै रुकुमपश्चिम चौरजहारी जोड्ने सडक निर्माण कार्यलाई प्राथमिकता राखेको उहाँको भनाई थियो ।

एक फरक प्रसंगमा मन्त्री ज्वालाले पार्टी फुट्दा मुलुक दुर्घटनामा पर्ने तर्क गर्दै राजनीतिक व्यवस्था राम्रो नभएसम्म मुलुकको विकास, समृद्धि र समाजवादी आधार तयार हुन नसक्ने जिकिर गर्नुभयो । अहिले नीति, विधि, विधानका विषयमा नेकपामा केही विवाद देखिएपनि छलफलबाट निकास निकालेर समृद्धिको अभियानमा समग्र जनता लामवद्ध हुनुपर्नेमा उहाँको जोड थियो ।

यता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले कर्णाली प्रदेशमा जोडिनुको लाभ सल्यान जिल्लाले राम्रोसँग लिएको प्रतिक्रिया दिनुभयो । “कर्णाली प्रदेश सरकारले सल्यानको विकासमा प्राथमिकता दिएको छ,” सल्लाहकार शर्माले भन्नुभयो, “अब सल्यानले गाडी गुडाउने मात्र नभई उत्पादन बढाएर सरकारलाई सहयोग पुर्याउनु पर्दछ ।”

वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले प्रदेश सरकारले दिएको प्राथमिकताका आधारमा लागु भएका योजनाहरुको कार्यान्वयनमा सम्बन्धित पक्षले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासलाई संस्थागत गर्न सबै क्षेत्र र पक्षको उत्तिकै भूमिका रहेको औंल्याउनुभयो ।

पूर्वाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख विनोद पुनले रु.२७ करोड बजेट छुट्याईएपनि टेण्डर गर्दा रु.१८ करोड १८ लाख ३६ हजार ९९८ मा उक्त सडक निर्माण गर्ने सम्झौता गाल्वा धुलिखेल जेभीले गरेको बताउनुभयो । उहाँका अनुसार ११ किलोमिटर सडक स्तरवृद्धिका साथै कालोपत्रे गर्ने जिम्मा लिएर कार्तिकमा सम्झौता गरेको उक्त कम्पनीले २४ महिनामा निर्माण कार्य सम्पन्न कबोल गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्