OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ५, २०७७सुर्खेत,
५१० पटक

कर्णाली, ५ भदौ जुम्ला । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को नियन्त्रण, रोकथामलगायतका विपद प्रतिकार्यको काममा सक्रियतापूर्वक लाग्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री शाहीले भर्चुअल बैठकबाटै आज कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै मुख्यमन्त्री शाहीले मानवीय क्षति पुगेमा राज्यले जवाफ दिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा लक्षणसहितको संक्रमण बढेकोले उच्च सतर्कताका साथ काम गर्नुपर्ने उहाँको भनाई छ ।

कर्णालीमा ज्येष्ठ नागरिक, दम तथा दीर्घरोगीहरुको संख्या धेरै छ, उहाँले भन्नुभयो, लक्षणसहितको संक्रमण समुदायमा पुगेमा मृत्युदर बढन सक्छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसँग अनिवार्य पिसिआर रिपोर्ट माग गर्ने निर्णय गरेको बताउदै निर्णयको कडाईपूर्वक कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीले निर्देशन गर्नुभयो ।

मेलापर्वको समय शुरु भएको बताउनुभएका उहाँले जिल्लामा कुनै पनि बेला हुने मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, बैठक र भिडभाड हुने गतिविधि रोक्न निर्देशन दिनुभयो । जिल्ला विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) बैठकबाट स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा अक्सिजन, कम्तिमा एउटा भेन्टिलेटर र पाँचदेखि सातवटा आईसियु बेड व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । वर्षायामका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति बढेकोतर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहात तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन कुनै घटना घटेमा आवश्यक समन्वय गरी तत्काल रिपोर्टिङ्ग गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्