OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहभाद्र ४, २०७७जुम्ला
१४५४ पटक

४ भदौं २०७७, बिहीबार

मुलुक संघीय संरचनामा जाँदै गर्दा विसं.२०७२ साल साउन महिनामा कर्णालीले पुनः आन्दोलन गर्नु प¥यो । विसं.२०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको प्रदेश सिमाङ्कनको निर्णयले कर्णाली ओझेलमा परेपछि सरकारको त्यो निर्णयबाट हालको कर्णालीका नागरिकहरु चरम असन्तुष्ट बने । यहाँका नागरिकहरुको असन्तुष्टिकै कारण कर्णाली आन्दोलनमय बन्यो । जुन आन्दोलन १३ दिनसम्म निर्वाध भएको थियो ।

विसं.२०७२ साउन २४ गतेदेखि कर्णालीले आन्दोलन शुरु गर्यो । मध्यपश्चिम विकास क्षेत्रमा पर्ने १५ जिल्ला मध्य यहाँका १० जिल्लाले आन्दोलन अघि बढाए । कर्णालीमा सञ्चालन भएको १३ दिनको आन्दोलनको स्वरुपमा एउटै भएपनि उद्देश्य भने फरक थियो । सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम सुदूरपश्चिमको सेती महाकालीमा गाभिन चाहँदैनथे ।

डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालीकोटमा भएको आन्दोलनको उद्देश्य करिब करिब उस्तै थियो । मूलतः साविकको कर्णाली भने विशेष अधिकारसहितको स्वायत्त प्रदेशको माग गरिरहेको थियो । यो सुदूरपश्चिम प्रदेशसँग मात्र होइन, अहिलेको कर्णालीको तल्लो भागमा पर्ने पाँच जिल्लासँग पनि गाभिन चाहँदैनथ्यो । तथापि आन्दोलन भने सबै जिल्लामा निकै वेगमा चर्किरहेको थियो ।

सबै जिल्लामा भएको कर्णाली आन्दोलन मध्य जुम्ला र सुर्खेतमा भएको आन्दोलनले चरम स्वरुप लिएको थियो । सबै क्षेत्र तथा तहको साझा सहभागितामा भएको आन्दोलनबाट विभिन्न जिल्लाका सरकारी संरचनामा क्षति पुग्दै गयो । भौतिक तथा मानवीय क्षति हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गरिरहेको थियो ।

आन्दोलनले झनै चर्को रुप लिँईरहेको थियो । सुर्खेतले अखण्ड मध्यपश्चिम नारा लगाईरहँदा जुम्लाले विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग गरेको थियो । सुर्खेतमा चलेको आन्दोलन चरम सीमामा पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा साउन २५ गते सुर्खेतका यामबहादुर बिसी, गोपालसिङ रजवार र टिकाराम गौतमले ज्यान गुमाएका थिए ।

साविकको कर्णालीले भने ‘खान्नौ रोटी, जान्नौ डोटी’ नारा लगाउँदै अलग्गै कर्णाली प्रदेश घोषणा गर्नुपर्ने माग राखेर गरेको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि आन्दोलनलाई नियन्त्रण लिन प्रहरीले गोली प्रहार गर्दा साउन ३१ गते जुम्लाका हरिबहादुर कुँवर गम्भीर घाईते भए । उनीसँगै जुम्लाका पवित्रा महतारा, पदम बुढ्थापा, राजबहादुर महत, छक्क कार्कीलगायत घाईते भएका थिए ।

गम्भीर घाईते भएका कुँवरलाई उपचारार्थ काठमाडौं शिक्षण अस्पतालमा लगेको चार दिनपछि भदौ ४ गते चार आजकै दिन तत्कालिन प्रधानमन्त्री तथा हालको बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र राजनीतिक सहमतिले राप्तीका दुई, भेरीका तीन र साविक कर्णालीका पाँच जिल्लासहितको नयाँ प्रदेशको निर्णय गरेपछि ६ नं. प्रदेशको जन्म भएको थियो ।

सरकारको ६ नम्बर प्रदेश घोषणाले साविक कर्णालीलाई त्यति खुशी दिएन । जुम्लालगायत साविक कर्णालीले राज्यसँग क्षतिपूर्ति र विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेश मागका विषयमा कुनै वास्ता नभएपछि कर्णालीले दिल दिएर दिपावली पनि मनाएको थिएन । मूलतः मुलुकभरिको आन्दोलनका कारण भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै स्वायत्त प्रदेशको मागलाई स्थगित गरिएको थियो । यद्यपि पछिल्लो समयमा उसको माग भने नाम कर्णाली राखिएको ६ नम्बर प्रदेशको जंघारमा डुब्यो ।

प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरीका तीन, कर्णाली र राप्तीका दुई जिल्ला, सुदुरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो । घाईते कुँवरलाई भने सरकारले भदौ ६ गते मृत घोषणा गरेको थियो ।

यो आन्दोलनमा उनीसँगै सुर्खेतका तीन जनाले बीरगति प्राप्त गरेका थिए । चारै जनालाई नेपाल सरकारले शहीद घोषणा गरेको थियो । यही दिनलाई कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा आज मनाउनुका साथै प्रदेशभर सार्वजनिक विदासमेत दिएको छ ।

विसं.२०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएपश्चात् फागुन १२ गते बसेको कर्णाली प्रदेशसभाको चौथो बैठकले ६ नं. प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत राख्ने सर्वसम्मतिको ऐतिहासिक निर्णय गरेपछि ‘कान्छो प्रदेश कर्णाली’ बनेको हो ।

यही ‘कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस–२०७७’ को अवसरमा यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

संघीय व्यवस्था स्थापनाका र प्रदेश प्राप्तिका लागि आफ्नो जीवनको परवाह नगरी आन्दोलनको अग्रपंक्तिमा रहेर लड्दा लड्दै जीवन बलिदान गर्ने महान शहीदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहीले उक्त आन्दोलनमा घाइते भएका योद्धाहरुप्रति स्वास्थ्यलाभको कामना एवं आन्दोलनमा सहभागी भएर नयाँ प्रदेश जन्माउन योगदान पुर्याउने आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्