OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७७सुर्खेत
४१५ पटक

२९ असार २०७७, सोमबार

कर्णालीको प्रदेशसभाका चारवटा संसदीय समितिले गठन भएको २८ महिनापछि नेतृत्व पाएका छन् । समितिको आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

सार्वजनिक लेखा समितिको अध्यक्षमा भने यसअघि ज्येष्ठ सदस्यको हैसियतले नेतृत्व गरिरहेका कांग्रेस सांसद दीनबन्धु श्रेष्ठ पुन अध्यक्षमा चयन हुनुभएको छ ।
अर्थ तथा प्राकृतिक स्रोत समितिमा नेकपाका सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिमा नेकपाकै सांसद दानसिंह परियार र सामाजिक विकास समितिमा पनि नेकपाकै सांसद देवी वली सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश सभाको २०७४ चैत २६ गतेको दशौँ बैठकले चारवटा समिति गठन गरेको थियो । तर विभिन्न कारण देखाउँदै करिब साढे २ वर्षसम्म समितिले नेतृत्व पाउन सकेको थिएन । यसअघि ज्येष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए ।

कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची (५) बमोजिम समितिका चारैजना अध्यक्षले आइतबार नै पद तथा गोपनियताको सपथ तथा पदभार पनि ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख राजबहादुर शाहीले सपथ खुवाउनुभयो

नव निर्वाचित अध्यक्षहरुले अब कानून निर्माण गर्दा जनताका माझ छलफल गराई जनपक्षीय कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सामाजिक विकास समितिकी अध्यक्ष देवी वलीले समितिको कार्ययोजना नै बनाएर अब बाँकी कार्यकालमा उत्कृष्ट काम गरेर देखाउने दावी गर्नुभयो।

सरकारको कामको निगरानी गर्ने भन्दै विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले सरकारलाई सहि बाटोमा हिडाउन सहयोग पुर्याउने बताउनुभयो । प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले पनि कानून निर्माण गर्दा जनताका माझ छलफल गर्ने कामलाई बढावा दिईने तर्क प्रस्तुत गर्नुभयो ।

सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले आफ्नै नेतृत्वमा अहिलेसम्म प्रभावकारी काम भएको प्रष्ट्याउँदै आगामी दिनमा पनि यही जिम्मेवारीमा थप निखारताका साथ काम गर्दै सरकारको कामलाई पारदर्शी बनाउन समितिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । अब सरकारको कामकाज र संसदीय समितिहरुको आवश्यक भूमिकाले हरेक गतिविधि तथा क्रियाकलापमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्